काठमाडौं– दुर्घटनामा भनेको जुनसुकै बेला पनि पर्न सक्छ। कतिपय अवस्थामा तत्कालै चिकित्सकहाँ जान सम्भव नहुन सक्छ। यस्तो अवस्थामा हाम्रो वरिपरि पाइने जडिबुटिहरुबाट पनि उपचार गर्न सकिन्छ।
सामान्य चोटपटकदेखि शरीर पोल्ने समस्याको उपचार घरमा नै गर्न सकिन्छ। स्वास्थ्यमा आपतकालिन समस्या परेको खण्डमा उपचारको लागि प्रयोग हुने घरेलु जडीबुटीहरु यस्तो प्रकार क छन्।
जाइफल
जाइफल घोटेर दूधमा मिसाई पिउनाले निद्रा लाग्दछ तर, यो बढी मिसाएमा बढी नशाकारक एवम् हानिकारक हुन सक्दछ। जीउ दुखेमा, हातगोडा गलेमा जाइफललाई पानी वा दूधमा पकाइ पिउन सकिन्छ । त्यसैगरी तोरीको तेलमा जाइफल थिचेर फुराउने र त्यसलाई जीउमा दल्दा जीउ दुखाइमा आराम पाइन्छ।
मुटु कमजोर भएका ब्यक्तिले जाइफल महमा केही मात्रामा मिसाई नित्य सेवन गर्दा फाइदा हुन्छ। डरलाग्ने, मुटु बढी ढुकढुक हुने, झस्किने लक्षणहरु उत्पन्न भएमा दूध र शिलाजितका साथमा थोरै जाइफल मिसाई प्रयोग गर्दा लाभ मिल्छ। भोक नलाग्ने भएमा केही दिन जाइफको टुक्रा चुस्नाले भोक बढी लाग्न थाल्दछ।
घिउकुमारी
शरीरको छाला जलेमा वा पोलेमा घिउकुमारीलाई औषधिको रुपमा प्रयोग गरिन्छ। पोलेको ठाउँमा यसको रस लगाउँदा चिसो र शितलता प्रदान गर्छ। गमला वा सानो प्लाष्टिकको बट्टामा नै घर वरिपरि रोप्न सकिने घिउकुमारीका अनगिन्ति फाइदाहरु छन्।
अदुवा
दैनिक भान्छामा प्रयोग हुने अदुवाले पाचनशक्ति वृद्धि गर्छ। यसले अनावश्यक ग्याँस फाल्न मद्दत गरी पेटलाई हल्का बनाउनुका साथै बान्ता आउने समस्याको समाधान गर्छ। हरेक राती एक कप अदुवा चिया खाँदा पाचन पक्रियालाई सहज बनाउँछ। त्यस्तै मनतातो अदुवा पानी खाँदा बान्ता आउने समस्याको समाधान हुन्छ।
बेसार
बेसार आफैमा एन्टिसेप्टिक र एन्टिबायोटिक तत्व हो। त्यही भएर काटेको ठाउँमा, जलेको स्थान वा अन्य घाउमा यसको प्रयोग गरिन्छ। सामान्य चोटपटकपछिको घाउमा बेसार दल्ने संस्कार पहिले देखि नै प्रचलित छ। चिसो लागेको छ भने सुत्नु अगाडि तातो दुधमा केही चिम्टि बेसार राखेर मिसाएर पिउँदा राहत मिल्छ। र एक रातमै तपाईको चिसो भाग्छ।
बेसारले प्राकृतिक पेन किलर (दुखाई कम गर्ने औषधि) को काम गर्छ। छाला सम्बन्धि निश्चित रोगको उपचारमा पनि बेसारको प्रयोग हुन्छ। बेसारले मुटु रोग र क्यान्सरबाट पनि बचाउँछ। बेसारले डिप्रेसन रोगको औषधीको काम गर्छ। नियमित बेसारको धुलो अनुहारमा लगाउँदा अनुहारमा चमक ल्याउनुका साथै चाउरीनबाट बचाउँछ।
हींग
हींगले पाचनक्रिया मजबुत बनाउका साथै श्वासप्रश्वाससम्बन्धी रोगबाट बचाउँछ। तातो पानीमा हिंगराखेर खाँदा ब्रोन्काइटिसमा राहत मिल्छ। पेट दुख्दा तातो पानीसंग हींग खाँदा दुखाई कम हुन्छ। दाँत दुखेमा हींग खाँदा राहत मिल्छ। दुखाई भएको ठाउमा हींगको लेप लगाउदा दुखाई कम हुन्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। दाद, लुतो भएको ठाउमा हिंगको लेप लगाउदा औषधिको काम गर्छ। कब्जियत भएमा तातो पानी र हिंग खाँदा फाइदा हुन्छ।
तुलसी
तुलसीले रोगका किटाणु नष्ट गर्न मद्दत गर्छ। यदि घरअगाडि तुलसीको बोट रोपिन्छ भने हावा पनि शुद्ध हुन्छ, आसपासका हानिकारक किटाणु पनि प्रभावहिन हुन्छन्। तुलसीमा एन्टीबायोटिक गुण हुन्छ, जो मलेरिया रोगका लागि लाभकारी हुन्छ। तुलसीको सेवनबाट शरीरमा रोग प्रतिरोधी क्षमता बढ्छ। यसको कुनै साइडइफेक्ट हुँदैंन। र यसको सेवनबाट रुघाखोकी र निमोनिया निको हुन्छ। यसको सेवनले श्वास गन्हाउदैन। तुलसीको पातलाई चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ।
अथवा तुलसीको पातलाई सुकाएर दालचिनी, तेजपत्ता मिसाएर धुलो बनाएमा चियाको रुपमा प्रयोग गर्न सकिन्छ। दमको रोगीले तुलसीको पातलाई काँडा बनाएर हरेक दिन तातो पार्दै बिहान बिहान पिएमा लाभदायी हुन्छ। खोकी र ज्वरोमा तुलसीको पात उमालेर दिएमा फाइदा हुन्छ। तुलसीले रगतमा कोलस्ट्रोलको मात्रा नियन्त्रित गर्छ, नियमित सेवनले वजन समेत घटाउँछ।
ल्वाङ
ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ। यस्तै, यसमा भिटामिन ए तथा सि, म्याग्नीज र फाइबर पनि पाइन्छ। ल्वाङ प्राकृतिक पेनकिलरको रुपमा पनि प्रयोग गरिन्छ। कैयौं रोगमा विशेषज्ञहरु जोर्नी दुख्ने समस्याका लागि ल्वाङको तेल सिफारिस गर्छन्।
ल्वाङका तेल सुँघ्नाले रुघा, कफ, दम, ब्रोङकाइटिस, साइनसाइटिसजस्ता समस्यामा तुरुन्त आराम मिल्छ। ल्वाङको तेलमा एन्टीसेप्टिक गुण पनि हुन्छ। जसबाट फंगल संक्रमण, काटेको, घाउ भएको र छालासंबन्धी अन्य समस्यामा यसको प्रयोग गरिन्छ। ल्वाङको तेल सिधै नभई कुनै तेलमा मिसाएर लगाउनुपर्छ।
सुकुमेल
भोक नलाग्ने, बान्ता हुने, अपच हुने आदि समस्या छन् भने सुकुमेल खानाले कम हुन्छ। तिर्खा लागिरहन्छ अथवा घाँटी पोल्ने गरिरहन्छ भने, सुकुमेल मिसाइएको पानी पिउँदा राम्रो हुन्छ। छातीमा कफ जमेको छ र सास लिन गाह्रो भइरहेको छ भने सुकुमेल खानाले कफ बाहिर निस्कन्छ र शरीरलाई राहत मिल्छ।
रुघाखोकी लागेको छ अथवा घाँटी खसखस भइरहने समस्या छ भने पनि सुकुमेललाई पिसेर महसँग खानुपर्छ। सुक्खा खोकी लागेको छ भने, सुकुमेल, तोरीको तेल र चिनी मिसाएर खानुपर्छ। यसले कफ बाहिर निकाल्न मद्दत गर्छ । ज्वरो आएर जीउ पोलेको छ भने पनि सुकुमेल खानाले सहज महसुस हुन्छ।