मनाङ– विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको छ। लमजुङको सदरमुकाम बेँसीशहरदेखि शुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर समाप्त हुन्छ। विगत वर्षहरुमा विदेशी पर्यटकको लर्को लाग्ने यो समयमा अहिले पर्यटक देख्न मुश्किल परेको छ। लमजुङ बेँसीशहर हुँदै खुदीभुलभुले, बाहुनडाँडा, जगतच्याम्चे, जगत भएर पर्यटक मनाङ आउने क्रम ठप्प भएको छ।
पर्यटनकै भरमा रहेका पर्यटन व्यवसायी र होटल व्यवसायी पर्यटक नआउँदा निराश भएका छन्। पर्यटन व्यवसायी विनोद गुरुङका अनुसार गत वर्ष यो समयमा होटलका कोठाले नपुगेर टेन्टमा पर्यटक राख्नुपरेको थियो, अहिले सबै कोठा खाली नै छन्। त्यस्तै गुनासो अधिकांश होटल व्यवसायीको छ।
कहिले हिमपात त कहिले महामारी रोगले यो पदमार्गमा आउने पर्यटक दिनानुदिन घट्दै गएको होटल व्यवसायी मिङ्मर लामाले बताएका छन्। उनको अनुसार दुईचार दिन अगाडि एकदुई पर्यटक देखिए पनि अहिले भने सुनसान नै भएको छ। उनले भने, ‘पर्यटक आउनभन्दा पनि रोग सर्ला कि भन्ने डरले सताएको छ।’
जिल्ला प्रशासन कार्यालय मनाङले विदेशी पर्यटकसँग सचेत रहन र कोरोना भाइरसका बारेमा सतर्क रहन आग्रह गरेको छ। त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले पनि पर्यटकीय क्षेत्रमा आउने विदेशी पर्यटकसँग सचेत रहन आग्रह गरेको छ।
रासस