काठमाडौं– सरकारले कोरोना (कोभिड १९) भाइरस शुरु भएको चीनको वुहान शहरबाट उद्धार गरी ल्याएको नेपालीलाई आज १६ दिन पछि घर पठाउने तयारी गरेको छ।
भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेकाहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कोरोना नेगेटिभ देखिए पछि उनीहरुलाई सोमबार घर पठाउने तयारी गरिएको हो।
स्वास्थ्य मन्त्रालयको अनुसार शनिबार नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि लगिएको र सोमबार रिपोर्ट आउँदा कुनै व्यक्तिमा पनि संक्रमण देखिएको छैन।नेपाली विद्यार्थीहरुलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली आइतबार क्वारेन्टाइनमा बसाइँ पूरा गरी आइतबार घर फर्किएको थियो।
नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको जहाजका चालकदल सहित १८ जनाको शनिबार सङ्कलन गरिएको नाक र घाँटीको स्वाब परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण नपाइएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको १५औँ दिनमा घर फर्काइएको थियो।