एजेन्सी– चीनको हुबेइ प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना (कोभिड ११) भाइरसको संक्रमण विश्वभर फैलिरहेको छ। अहिलेसम्म ६४ देशमा कोरोना संक्रमित भेटिएका छन्।
करिब ३५ हजार नेपाली रहेको बहराइनमा पनि कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ। बहराइनमा ३८ जनाभन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ भने २० भन्दा बढी शंकास्पदहरुलाई क्वारेन्टाइनमा राखिएको छ।
यसैबीच बहराइनस्थित नेपाली दूतावासले बहराइनमा अहिलेसम्म कुनै नेपालीमा पनि कोरोना संक्रमण नदेखिएको जानकारी दिएको छ। राजदूत पदम सुन्दासले विज्ञप्ती निकाल्दै बहराइनमा भएका नेपालीहरु सुरक्षित रहेको जनाएका छन्।
कोरोनाको उच्च जोखिम रहेको बहराइनमा रहेका नेपालीमा अहिलेसम्म कोरोनाको एउटा पनि केश नदेखिएको हो। यद्यपी बहराइनमा रहेका सबै नेपालीलाई सतर्क रहन आग्रह थरिएको छ।
कोरोना भाइरस संक्रमित पश्चात चीन भ्रमण सकेसम्म नगर्न बहराइनको विदेश मन्त्रालयले सूचना जारी गरेको छ। त्यस्तै, इरानको यात्रामा प्रतिबन्ध नै लगाएको छ। थाइल्याण्ड, सिंगापुर, मलेसिया तथा दक्षिण कोरिया भ्रमण गरेर आउने अन्य मुलुकका नागरिकलाई १४ दिनसम्म बहराइन प्रवेशमा प्रतिबन्ध लगाइएको छ।
