काठमाडौं– आमाको दूधमात्र खुवाउनाले शिशुमा शारीरिक तथा मानसिक विकास राम्रो हुन्छ। त्यसैले शिशुलाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउनु पर्दछ। आमाको दूधमा शिशुलाई चाहिने सबै प्रकारका पौष्टिक तत्व पाइनुका साथै रोगसँग लड्न सक्ने क्षमता पनि रहेको हुन्छ।
यसका साथै मस्तिष्क तेज गराउने पदार्थ पनि आमाको दुधमा पाइन्छ। मिश्रित खाना अथवा कृत्रिम दूध खुवाएका शिशुहरू छिटो बिरामी पर्ने र यस्ता खानाले बौद्धिक विकास पनि कम हुने गर्दछ, शिशुलाई स्तनपान सुरुगरे देखिनै आमा र शिशुको बीच अन्तरक्रिया तथा आइ कन्ट्याक्ट पनि हुनु जरुरी हुन्छ। यसो गर्दा शिशुले आमासँग सुरक्षित छु भन्ने महसुस गर्दछ।
शिशुलाई मालिस गर्दा, नुहाइदिँदा पनि बालसुलभ कुराकानी गर्नुपर्छ। शिशुको उमेरअनुसार खेल सामग्रीहरू दिनुपर्छ। घरको वातावरण स्वच्छ, सफा र शान्त हुनुपर्छ। धुम्रपान तथा मद्यपान गर्नु हुँदैन। शिशुका अगाडि झगडा गर्नु वा ठूलो स्वरले चिच्याउनु हुँदैन। आफू पनि अनुशासित एवं सभ्य भएमा मात्र शिशु पनि सभ्य, सुशील तथा चलाख हुने गर्दछ।
उमेरअनुसार शिशुलाई ख्वाउनुपर्ने खानाहरुः
शिशुलाई ६ महिनासम्म आमाको दूधमात्र खुवाउनु पर्दछ। त्यसपछि लिटो, मुछेको आलु, अण्डा आदि खुवाउनु थाल्नुपर्दछ। यस्ता खानेकुरा दिनको तीनपटक सम्म दिनु राम्रो मानिन्छ। दुई वर्षसम्म अन्य खानेकुराका साथमा आमाको दूध खुवाइरहनु पर्दछ।
एक वर्षदेखि दुई वर्षसम्मका शिशुलाई पर्याप्त मात्रामा दाल, भात, जाउलो, हलुवा, चिनी र दूधसहितको रोटी, खिचडी, लिटो, आँप, केरा वा परिवारले खाने गरेको खाना ५ पटकसम्म ख्वाउनु राम्रो हुन्छ। दुई वर्षमाथिका शिशुहरूलाई पारिवारिक खाना दिनको तीन पटक र अतिरिक्त खाना (खाजा) रोटी, चिउरा, मकै, भटमास, फलफूल, गेडागुडी, माछा–मासु दिनको दुईपटक खुवाउनु शिशुको लागि लाभदायक मानिन्छ ।