एजेन्सी– विश्वका ६४ मुलुकमा फैलिएको कोरोना (कोभिड १९) भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ५३ पुगेको छ भने ८९ हजार ७७ जना संक्रमित भएका छन्।
सबैभन्दा बढी कोरोनाबाट प्रभावित राष्ट्र चीनमा आइतबार थप ४२ जनाको मृत्यु भएसँगै मृतको सङ्ख्या २ हजार ९ सय १२ पुगेको छ भने ८० हजार २६ जना संक्रमित छन्। त्यस्तै अमेरिकामा कोभिड १९ को कारण दुई जनाले ज्यान गुमाएका छन्।
इटालीमा कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ। कोरोनाको संक्रमण एकै दिन ५० प्रतिशतले बृद्धि भएको छ। त्यहाँ संक्रमितको संख्या १६ सय ९४ पुगेको छ। शनिबारसम्म संक्रमित हुनेको सङ्ख्या ११ सय २८ थियो। त्यस्तै दक्षिण कोरियामा थप १ जनाको मृत्यु भएर मृतकको सङ्ख्या २२ पुगेको छ भने ४ हजार २ सय १२ जनामा संक्रमित भएका छन्।सोमबार ४ सय ७६ जनामा कोरोनाका संक्रमण पुष्टि भएको कोरियाका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
कोरोनाको संक्रमण फैलिएको सूचना लुकाएको भन्दै सिञ्चेओन्जी चर्चका पादरीमाथि छानविन सुरु गरिएको छ। जीसस क्राइष्टको दोस्रो अवतार घोषणा गरेका पादरी म्यान हिका भक्तजनहरुले आफूहरु मरेपछि पादरीले स्वर्गमा र्पुयाउने विश्वासका साथ भाइरस सङक्रमण सारेको अभियोगमा धर्म गुरुहरुमाथी कोरिया सरकारले अनुसन्धान थालेको बीबीसीले जनाएको छ।
सरकारले चर्चका संस्थापक म्यान हीसहित १२ जनामाथी अनुसन्धान सुरु गरेको बताइएको छ। इरानमा आइतबारसम्म ९ सय ७८ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ५४ जनाको मृत्यु भएको छ। यद्यपी मृतकको सङ्ख्या २ सय भन्दा धेरै भएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले दावी गर्दै आएको छ।
विश्व स्वास्थ संगठनका अनुसार पछिल्लो १० दिनमा ३१ मुलुकमा कोरोनाको संक्रमण देखिएको छ। यसै साता कतार, साउदी इक्वेडर लक्जेबर्ग आइरल्याण्ड लगायतका मुलुकमा कोरोनाको भाइरसको संक्रमण देखिएको थियो। हालसम्म विश्वभरबाट ४५ हजार १ सय ४१ जना निको भएर घर फर्किसकेका पनि छन्।