काठमाडौं– ज्यादा अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो हुँदैन, तर नियमित केही मात्रामा खुर्सानी सेवनले भने अनेक फाइदा गर्ने गर्दछ। खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुमम्बन्धी रोग लाग्नबाछ बचाउँछ। पिनासका लागि पनि याे लाभदायक मानिन्छ।
हरियो खुर्सानीले पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा घटाउँछ। यसमा एन्टी–अक्सिडेन्ट भरपूर पाइन्छ, जुन स्वास्थ्यका लागि ज्यादै लाभदायक हुन्छ र रक्तसञ्चारमा पनि खुर्सानीले मद्दत गर्दछ। हालै गरिएको एक अध्ययनले खुर्सानीको महत्व अझ धेरै रहेकाे देखाएको छ।
सो अध्ययनकाे रिपोर्टले खुर्सानीले फोक्सोको क्यान्सर फैलनबाट रोक्ने दाबी गरेको छ। रिपोर्टअनुसार, खुर्सानीमा पाइने ‘क्याप्साइसिन’ ले फोक्सोको क्यान्सर रोकथाममा मद्दत गर्छ। बढ्दो प्रदूषण, धुम्रपान तथा अव्यवस्थित जीवनशैलीका कारण महिला तथा पुरुष दुवैमा फोक्सोको समस्या बढ्दै गएकोले यो अध्ययनलाई ठूलो उपलब्धि मानिएको छ।