काठमाडौं– हाम्रो शरीरका सबै अंगहरू धेरै संवेदनशील हुन्छन्। हाम्रो कान भित्र रहेको कानको जाली पनि एकदमै संवेदनशील अंग हो। यसबाट हामी सुन्ने गर्छौं। हाम्रो असावधानी, लापरवाहीले गर्दा कानको जालीमा सानो चोट अथवा हानी हुन गएमा बहिरो हुने समस्या निम्तिन सक्छ।
यति मात्र नभएई अन्य विभिन्न कारणले गर्दा पनि मानिस बहिरो हुन सक्छ। हामी आज यहाँ बहिरोपनका कारण बारे केही चर्चा गर्ने छौं। हाम्रो उमेर बढेपछि कानको नशा कमजोर हुन थाल्छ। त्यसकारण बहिरोपनको समस्या आउन सक्छ। कानमा लामो समयसम्म फोहोर जम्मा भएमा संक्रमण हुन्छ।
कानलाई सफा नराख्दा वा राम्रोसँग सफा नगर्दा कानमा संक्रमण हुन जान्छ र यसकारण कानको जाली बिग्रन्छ र हामीमा कान कम सुन्ने वा नसुन्ने समस्या आउन थाल्छ। हामीले एक सय २५ डेसिबलभन्दा माथिको लाउडस्पीकरलाई लगातार सुन्ने गर्दा पनि कानको जालीमा क्षति पुग्छ। साथै दिनदिनै तीन वा चार घन्टा एयरफोनमा चर्को आवाजका साथ गीत सुन्दा कानको जालीमा हानी पुग्छ र बहिरो हुने सम्भावना बढ्छ।
त्यस्तै, मधुमेहका भएका व्यक्तिहरुमा पनि बिस्तारै कान सुन्ने क्षमता हराउँदै जान्छ। हामीले कानमा सेफ्टीपिन, हेयर पिन, सलाईको काँटी, पिन, प्वाख, कलम, कपास लगायतका वस्तुको प्रयोग गर्नु हुदैन्। यस्ता वस्तुले कान सफा गर्नेभन्दा पनि कानमा खराबी गर्ने काम गर्छ। कहिले काँही कानै नसुन्ने अवस्था समेत आउन सक्छ।