एजेन्सी– शरीरको तौल घटाएर फिट राख्ने चाहना सबैमा हुन्छ। स्वस्थ रहनको लागि सन्तुलित भोजन, पर्याप्त निन्द्राका साथ नियमित व्यायाम पनि आवश्यक हुन्छ। नियमित व्यायामका लागि पनि विभिन्न तरिकाहरूको प्रयोग गर्न सकिन्छ।
मर्निङ्ग वाक, जिम, योगा जस्ता विभिन्न तरिकामध्ये सबैभन्दा उत्तम विकल्प ‘जुम्बा’ लाई मान्न सकिन्छ। जुम्बालाई नाचेर गरिने व्यायाम भनिन्छ। नाच्नका लागि आफू अनुकूलको गीत पनि रोज्न सकिन्छ। नियमित जुम्बाले शरीरमा कुनै पनि किसिमको असर गर्दैन। तर मानिसहरूमा जुम्बा भनेको जसरी पनि नाचे हुन्छ, भन्ने गलत बुझाइ भएको हुनसक्छ।
शरीरको तौल घटाउनका लागि जुम्बा एउटा नियमभित्र र फर्मुला हेरेर गर्नु पर्दछ। दैनिक एक घन्टाका लागि गर्नु पर्ने जुम्बाका तीन चरण हुन्छ। जुन सुरुको १५ मिनेट वार्मअप, त्यसपछि ३० मिनेट डान्स स्टेप र अन्तिमको १५ मिनेट कूल डाउन गर्नु पर्दछ। त्यसमा पनि फर्मुलामा रहेर फास्ट, स्लो, स्लो, फास्ट आवश्यकता अनुसार डान्स गर्नु पर्ने हुन्छ।
यसरी क्रम मिलाएर एक घण्टा जुम्बा गर्दा पाँच सयदेखि एक हजार क्यालोरी घटाउन सकिन्छ। नियमित जुम्बा गर्नाले शारीरिक तथा मानसिक स्फूर्तिमा धेरै सकारात्मक परिवर्तन आउनुका साथै सोचाइमा पनि सकारात्मक परिवर्तन आउँछ। त्यसैले आजभोली विभिन्न चरणमा नाचेरै गरिने यो व्यायाम दिन–प्रतिदिन लोकप्रिय हुँदै गएको पाईन्छ।