काठमाडौं– कोरोना (कोभिड–९) भाइरस शुरु भएको चीनको हुबेई प्रान्तको वुहान शहरबाट नेपाल ल्याएर क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना नेपालीको दोस्रो पटक स्वास्थ्य परीक्षण गरिने भएको छ। क्वारेन्टाइनमा राखिएको १४ औं दिनमा (फागुन १७ गते) १ सय ७५ जनामा कोरोनाको संक्रमण रहे–नरहेको बुझ्न स्वास्थ्य परीक्षण गर्न लागिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालको अनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार शनिबार क्वारेन्टाइनमा रहेका नेपालीमा कोरोना संक्रमण रहे–नरहेको बुझ्न मुखको र्याल (स्वाब) सहित नमूना लिइने भएको छ।
सरकारले फागुन ३ गते (शनिबार) चीनको वुहानबाट उद्दार गरेर ल्याएका १ सय ७५ जना नेपाली फागुन ४ गते (आइतबार) देखि भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बस्दै आएका छन्। उनीहरुको गत फागुन ४ गते नै नमूना लिएर कोरोना संक्रमण भए–नभएको परीक्षण गरिएको थियो। नमूना संकलन गरिएको ७२ घण्टा (३ दिन पछि) फागुन ७ गते आएको रिपोर्टमा क्वारेन्टमा रहेका सबैमा कोरोनाको संक्रमण नभएको देखिएको थियो।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पहिलो परीक्षण गरिएको २ हप्ता (१४ दिन) पछि पुनः दोस्रो पटक स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ। सामान्यतः कुनै व्यक्तिमा कोरोना संक्रमण भएको १४ दिनपछि लक्षण देखिने भएका कारण दोस्रो पटक स्वास्थ्य परीक्षण गर्न लागिएको हो।
नेपाल सरकारले दोस्रो पटकको स्वास्थ्य परीक्षण गरेपछि कुनै पनि व्यक्तिमा संक्रमण नभएको देखिए क्वारेन्टाइनमा रहेका सबै जनालाई घर पठाउने तयारी गरेको छ। क्वारेन्टाइनमा रहेका नेपालीको नमूना संकलनका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तयारी शुरु गरिसकेको छ।
कोरोना परीक्षणको रिपोर्टमा कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण भएको नदेखिए आगामी मंगलबारदेखि बुधबार (२० देखि २१) गतेसम्म सबै जनालाई घर पठाइने स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालले जनाएका छन्।