एजेन्सी– भारत सरकारले जापानको राजधानी टोकियोबाट कोरोना संक्रमित पानी जहाज (डायमण्ड प्रिन्सेस) मा रहेका १ सय १९ जनाको उद्धार गरेको छ। भारतले बुधबार कोरोना भाइरसकाे संक्रमण देखिएको डायमण्ड प्रिन्सेस जहाजमा रहेका आफ्ना नागरिकहरुको उद्धारका लागि एअर इन्डियाको विशेष विमान त्यसतर्फ पठाएको थियो।
उक्त जहाज १ सय २४ जना यात्रु लिएर बिहीबार बिहान दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा अवतरण भएको छ। उद्धार गरेर दिल्ली ल्याइएका यात्रुहरुमध्ये ११९ जना भारतीय र पाँच जना विदेशी नागरिक छन्। उद्धार गरिएका विदेशी पाँच जनामध्ये दुई जना श्रीलंकाली र नेपाल, दक्षिण अफ्रिका र पेरुका एक–एक जना नागरिक रहेको भारत सरकारले जनाएको छ।
‘डायमन्ड प्रिन्सेस जहामा रहेका ११९ जना भारतीयका साथै श्रीलंका, नेपाल, दक्षिण अफ्रिका र पेरुका पाँच जना लिएर टोकियोबाट उडेको एअर इन्डियाको विमान दिल्लीमा अवतरण गरेको छ,’ भारतीय विदेशमन्त्री एस जयशंकरले ट्वीटमा उल्लेख गरेका थिए। उक्त ट्विटमा इयर इण्डियाले यो मौकाको लागि धन्यवाद दिएका छन्।

दिल्ली ल्याइएका भारतीयमध्ये ११३ जना पानीजहाजका चालक दलका सदस्य र ६ जना यात्रु रहेको बताइएको छ। उद्धार गरिएका नेपालीको परिचय भने खुलेको छैन। उद्धार गरिएकालाई दिल्ली छेउको हरियाणाको मानेसरस्थित सैनिक क्याम्पमा १४ दिनको क्वारेन्टाइनमा राखिने बताइएको छ।
चार फेब्रुअरीमा पहिलो पटक उक्त जहाजमा रहेको दश जनामा कोरोना भाइरसको संक्रमण भएको खुलेको थियो। तर, समयमै ती संक्रमितहरुको उद्धार नहुँदा जहाजमा यात्रा गरिरहेका ३७०० जना यात्रुमध्ये ७०० जनामा कोरोनाको संक्रमण देखिएको बताइएको छ। जसमध्ये चारजनाको त मृत्युसमेत भइसकेको छ।