काठमाडौं – कोल्ड ड्रिंक्सको अत्याधिक सेवनले मानिसको अल्पआयुमै मृत्यु हुने देखिएको छ। एक अध्ययनको परिणामअनुसार दैनिक रूपमा चिनी वा गुलियो पेय पदार्थको दुई गिलास वा बढी सेवनले अल्पायुमा मृत्यु हुने जोखिम बढाउने देखाएको हो।
विभिन्न १० युरोपेली देशका ४ लाख ५० हजार व्यक्तिमा गरिएको अनुसन्धानका क्रममा कृत्रिम रूपले गुलियो पेय पदार्थको अत्यधिक सेवनले मानिसको पाचनक्रियामा असर पुग्ने गरेको पाएको हो। कोल्ड ड्रिंक्सले शरीरको आवश्यक खनिज पदार्थलाई बाहिर निकालेर मानसिक र शारीरिक रूपमा परिवर्तन गराउन सक्ने क्षमता राख्छ। एक पटक कोल्ड ड्रिंक्स पिउनु भनेको एकै पटक १० चम्चा चिनी खाएको बराबर हो।
कोल्ड ड्रिंक्सको सेवनले रगतमा चिनीको मात्रा बढाउने, रक्तचाप बढाउने, अल्छि बनाउने, शरीरको तौल समेत बढाउँदछ। सोधकर्ताका अनुसार कोल्ड ड्रिंक्सको अत्याधिक सेवनले मुटु रोग तथा स्ट्रोकजस्ता समस्यासमेत निम्त्याउन सक्छ। कोल्ड ड्रिंक्सको अत्यधिक प्रयोगले चुरोट तथा सूर्तीजन्य पदार्थको सेवनभन्दा बढी खतरनाक हुने अनुसन्धानले निष्कर्ष निकालेको छ।