काठमाडौं– मेथीको प्रयोग स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। यसको झोल, अचार, परौठा, साग, मसालाजस्ता परिकार शारीरिक स्वास्थका लागि एकदमै फाइदाजनक हुन्छ। शारीरिक फाइदाका साथै मेथीले छालाको सौन्दर्यतालाई पनि निखार्न ठूलो भूमिका निर्वाह गरिरहेको हुन्छ।
मेथीमा पाइने सौन्दर्यवर्धक गुणले छालासम्बन्धी सम्पूर्ण विकारलाई हटाएर छालामा चमक ल्याउने काम गर्दछ। अनुहारको सुन्दरताको लागि मेथीको दाना, मेथी भिजाएको पानी, मेथीको धुलोमा बेसन र दहीको मिश्रण गरेर फेसप्याक बनाउन सकिन्छ।
मेथीले अनुहारमा आउने खील भएको डण्डीफोरलाई रोक्न मद्दत गर्नुका साथै यसको नियमित प्रयोगले अनुहारमा रहेका डण्डीफोर वा आगोले पोलेको घाउको दागलाई पनि हटाउन मद्दत गर्छ। मेथीको दानाको पीठो बनाएर महसँग मिसाएर दैनिक राति सुत्नअघि डण्डीफोर आएको ठाउँमा वा दागहरू भएको ठाउँमा लगाएर बिहान हल्का चिसो पानीले पखाल्नु पर्छ।
केही हप्ता मेथीको फेसप्याकलाई अनुहारमा निरन्तर लगाएपछि डण्डीफोर हराएर जान्छ। मेथीले छालामा निखार र चमक ल्याउनुका साथै चाउरी, कालो दाग, धर्का, संक्रमण जस्ता अनुहारको गम्भिर समस्याबाट छालाको रक्षा गर्ने काम गर्छ। मेथीमा छालाको समस्याबाट छुट्कारा दिलाउने क्षमता हुन्छ।