काठमाडौं – मानिसहरुको दाँतको सबैभन्दा पछिल्लो लाइनमा हुने दाँतलाई ‘बुद्धि बंगारो’ भनिन्छ। सबैभन्दा ढिलो उम्रिने दाँत यही हो, जुन करिब १८ वर्षपछि आउन सुरु गर्छ। मानिसको बंगाराको आकार केही लाम्चो र चेप्टो हुन्छ। त्यस क्रममा दाँतको संख्या भने ३२ नै हुन्छ।
कुनामा रहने भएकाले बुद्धि बंगारोलाई रहने ठाउँ पुग्दैन। त्यसैले कुनामा रहेको बुद्धि बंगारो नियमितभन्दा फरक ढंगले बांगिएर, टेढिएर उम्रिने हुन्छ। विकसित मुलुकमा भने त्यसको कुनै काम नहुने भएकाले निकालेर फालिदिने चलन छ। नेपालमा भने खासै चलन सुरु भएको छैन। ३२ वटा दाँतमध्ये सबैको आ–आफ्नो जिम्मेवारी र काम हुन्छ।
अगाडिकाले टोक्ने, बीचकाले लुछ्ने र त्योभन्दा पछाडिकाले चपाउने काम गर्छ। तर सबैभन्दा पछाडि हुने बुद्धि बंगारोको खासै काम आउँदैन। त्यसको हेरचाह पनि कम हुन्छ र बुद्धि बंगारोमा खाना अड्कियो भने त्यसले अगाडिको दाँत पनि बिगार्न सक्छ। माथिको तुलनामा तलपट्टिको बुद्धि बंगारोमा बढी समस्या देखिन्छ। ‘कीरा लाग्ने’ समस्या बंगाराहरुमा बढी देखिन्छ। त्यसको संरचना नै खाल्डाखुल्डीयुक्त र सफा गर्न गाह्रो हुने प्रकृतिको हुन्छ।