काठमाडौं- विभिन्न किसिमका क्यान्सर रोगमध्ये आफैं जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो। घरमै बेलाबेलामा सरलताका साथ आफ्नो स्तन जाँच गरिराख्दा समयमै यो रोगबाट बच्न सकिन्छ, जसलाई ‘ब्रेस्ट सेल्फ इक्जामिनेसन’ भनिन्छ।
चिकित्सकका अनुसार आफ्नो स्तन ठीक छ या छैन भनी ऐनाअगाडि उभिएर पनि जाँच गर्न सकिन्छ। आफु ऐनाअगाडि उभिएर आफ्नो दुवै स्तनलाई हेर्ने, दुवै स्तनको समानता, आकार, बनोट, निप्पलको अवस्था, छालाको रङ, स्तनको कुनै भागमा गिर्खा भए नभएको ध्यान दिनुपर्छ, केही गिर्खा, गाँठागुँठी भएमा वा केही परिवर्तन देखिएको छ भने, परिक्षण गराईहाल्नु पर्दछ।
चिकित्सकका अनुसार आफैँ जाँच गर्दा नुहाउने समय निकै राम्रो मानिन्छ। नुहाउँदा पनि सरलताका साथ जाँच गर्न सकिन्छ। साबुन लगाएको हातले भिजेको स्तनको जाँच गर्न अझ सजिलो हुन्छ। देब्रे हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमबद्ध रूपमा जाँच गर्न सकिन्छ। यसरी जाँच गर्ने क्रममा कुनै भाग कडा लागेमा तुरुन्तै उपचार गराउनुपर्ने हुन्छ।
यसरी स्तनको जाँच आफैँ गर्दा महिनावारी नियमित रूपमा भइरहेका महिलाले महिनावारी रोकिएको चार–पाँच दिनपछि यो जाँच गर्नुपर्ने हुन्छ। महिनावारी भएका बेलामा स्तन अलिकति सुन्निएको, कडा तथा हल्का दुख्ने हुन्छ। यसो भएमा तुरुन्त जाँच गराउनुपर्ने बिशेषज्ञहरुको भनाइ छ।
विभिन्न तथ्याङ्कअनुसार विश्वमा औसत ५० वर्ष उमेर नाघेका महिलामा स्तन क्यान्सरको समस्या बढी देखापर्ने गर्दछ। स्तन क्यान्सर वंशाणुगत कारणले पनि हुन सक्छ। तर सबैमा यो समस्या हुन्छ भन्ने छैन। कुनै महिलालाई चाँडै महिनावारी शुरु भएर ढिलै सुकेको छ भने, स्तन क्यान्सर हुने सम्भावना धेरै हुन्छ, ढिलो बच्चा जन्माएका महिला र आफ्नो बच्चा जन्माएर पनि स्तनपान नगराउने तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने महिलालाई स्तन क्यान्सर हुने खतरा हुन्छ।
लामो समयसम्म परिवार नियोजनको चक्की खाने, हर्मोनको प्रयोग गर्ने, अनावश्यक विकीरणको (एक्सरे) सम्पर्कमा आउने, बोसोयुक्त खानेकुरा ज्यादा खाने, धेरै मदिरा सेवन गर्ने र अति मोटा महिलामा पनि स्तन क्यान्सरको धेरै खतरा हुन्छ। क्यान्सर विशेषज्ञका अुनसार फेरिएको जीवनशैलीका कारण स्तन क्यान्सरका बिरामी बढ्दै गएका छन्।
क्यान्सर छ वा छैन भनेर वर्षको एक पटक म्यामोग्राफी (स्तनको मात्र एक्स–रे) गर्नु पनि आवश्यक रहेको चिकित्सकहरु बताउँछन्। समयमै बच्चा जन्माई स्तनपान गराउनुपर्ने, व्यायाम गर्ने, मोटोपनबाट बच्ने र खानपानमा ध्यान दिनु आवश्यक हुने विशेषज्ञहरुको सुझाव रहेको छ।