काठमाडौं– महिलाले जागिरे अवस्थामा बच्चा जन्माउनुभयो, यस्तो अवस्थामा एक–दुई महिनासम्म त जुनकुनै अफिसमा पनि छुट्टी मिलिहाल्छ। तर यसपछि पनि बच्चाको केयर त खुबै गर्नुपर्छ। यस बिषयमा केही योजना बनाएर मिलाउन सक्नुभयो भने, दुध चुसाउने समस्याकै कारण भने जागिर छाड्नुपर्दैन।
घरमा बच्चाको केयर गर्ने वैकल्पिक कोही व्यक्ति छ भने, आफ्नै दुधको व्यवस्था गरेर दिनभर अफिस या काममा निस्किन सक्नुहुनेछ। ६ महिनामुनिका बच्चालाई आमाको मात्रै दुध चुसाउनुपर्छ। तर, जागिरे आमाले बच्चालाई दुध चुसाउनुपर्ने बाध्यताका कारण जागिर छाड्ने जोखिम पनि मोल्नुपर्दैन। जागिरको बहानामा आमाको बाहेक गाई–भैँसी या प्याकेटको दुध पिलाउनु पनि पर्दैन।
कामकाजी महिलाले बच्चाको हेरचाह गर्ने एकजना वैकल्पिक व्यक्ति खडा गर्न सके आफ्नै दुध पिलाउने सवालमा समस्या नै पर्दैन। अधिकांशलाई अझै पनि थाहा छैन कि, आमाको दुध जम्मागरी बच्चालाई दिनभर खुवाउन सकिन्छ। दुहेर राखेको चार घन्टासम्म दुध त्यत्तिकै खुवाउँदा कुनै फरक पर्दैन।
योभन्दा बढी समय या दिनभरका लागि हो भने फ्रिजमा राखेर खुवाउन सकिन्छ। दुहेर फ्रिजमा राखेको आमाको दुध बच्चालाई आवश्यक पर्दा फ्रिजबाट निकालेर केही समय बाहिरी वातावरणमा राखेपछि खुवाउन सकिन्छ। तर यो विकल्प छाडेर आमाबाहेक अन्य स्रोतको दुध पिलाई बच्चाको स्वास्थ्यमाथि खेलबाड गर्ने गल्ती नगर्नुहोस्। ६ महिनामुनिका बच्चालाई २४ घन्टामा कम्तीमा आठपटक दुध पिलाउनुपर्छ।
बच्चाले भोक लागेको महसुस गर्छ भने, यो भन्दा बढीपटक पनि खुवाउन आवश्यक पर्छ। बच्चाले खानका लागि झगडा गर्छ कि गर्दैन भन्ने ख्याल गरेर दुध पुगे–नपुगेको पत्ता लगाउन सकिन्छ। बच्चाले २४ घन्टामा पाँच पटकभन्दा बढी पिसाब फेर्नु पनि दुध पुगेको संकेत हो