काठमाडौं– प्रायः मानिसहरू ढाडको दुखाइबाट धेरै पीडित छन्। ढाड दुख्ने कारण धेरै छैनन्। बसेर काम गर्दा, व्यायाम नगर्दा, खानपानमा बेवास्ता तथा निहुरिएर काम गर्दा ढाड दुख्ने समस्या बढ्दै गएको छ।
त्यसैले ढाड दुखेपछि उपचारका लागि अस्पताल दौडनुभन्दा दुख्न नदिनु नै बुद्धिमानी हुन्छ। ढाड दुख्नबाट बच्न खानपानमा विशेष सावधानी अपनाउनुपर्छ। यस्तो खानाखाने गर्नुहोस्, जसले समग्र स्वास्थ्यमा फाइदा पुग्नुका साथै ढाड बलियो बनाउन मद्दत गर्दछ।
भिटामिन डीयुक्त खानेकुराहरुः
माछाका प्रकारहरुः टुना, सालमन, म्याक्रेल जातका माछा धेरै खान जोड दिनुहोस्। त्यस्ते कलेजो, अन्डाको पहेँलो भाग।
क्याल्सियमयुक्त खानेकुराहरुः
दुध र दुधबाट बनेका परिकार, हरियो सागपात र त्यसमा पनि पालुंगो जातको साग र दाल–गेडागुडी, त्यसमा पनि सिमीमा धेरे जोड दिनुहोस्।
एन्टिअक्सिडेन्टजन्य खानेकुराहरुः
फलफूल विशेषतः सुन्तला, कागती, स्याउ, मौसमी फलफूल, हरियो सागपात र गाँजर खाने गर्नुहोस्। भिटामिन डी र क्याल्सियम मिलाइएका खानाले ढाड र कम्मरको दुखाइबाट मुक्ति पाउन सकिन्छ।
– अफिसमा काम गर्दा बसाइ मिल्दैन र ढाड दुख्छ। धेरै समयसम्म कुर्सीमा बस्नु छ भने, ढाडलाई सीधा पारेर बस्नुहोस्, र तल्लो ढाडमा सपोर्ट राखेर बस्नुहोस्। गहु्रँगो सामान नबोक्नुहोस्, अगाडि झुकेर काम पनि नगर्नुहोस्।
– शरीरको तौल बढी छ भने, घटाउनुहोस् किनकि, पेट बढ्यो भने ढाडको ब्यालेन्स मिल्दैन। ढाड पछाडि धकेलिन्छ। मोटोपनसँगै ढाडमा दबाब पर्न जान्छ र ढाड दुख्ने हुन्छ। धेरै नरम ओछ्यानमा नसुत्नुहोस्, किनकी कोमल ओछ्यानमा ढाड सीधा हुन पाउँदैन। ढाड बीचमा गढ्छ र ढाड दुख्न थाल्छ। अग्लो जुत्ता–चप्पल लगाउन बन्द गर्नुहोस्। यस्ता जुत्ता–चप्पलले ढाडमा चाप पर्दछ। चुरोट, रक्सी सेवन नगर्नुहोस्।
– चुरोटले रक्तसञ्चार कम गर्दछ, त्यसले हड्डी कमजोर गराउँछ। क्याल्सियम र भिटामिन डीयुक्त खानेकुरामा जोड दिनुहोस्। जस्तै– दूध, दही, हरियो सागसब्जी, अन्डा, माछामासु लगायत खानेकुरा अधिक मात्रामा खाने गर्नुहोस्, नियमित व्यायाम गर्नुहोस्, नियमित व्यायामले ढाडवरिपरिको मासु बलियो बनाउनुका साथै रक्तसञ्चार राम्रो गराउँछ र हड्डीलाई पनि बलियो बनाउँछ।