काठमाडौं– मानिसहरू विभिन्न कारणले तनाव महसुस गर्दछन्। कार्यालयको कामको चाप होस् वा घरयासी काम, विभिन्न विषयले पनि तनाव बढ्न सक्छ।
अझ हिजो आज त विभिन्न खानेकुराका कारण पनि तनाब बढ्ने गरेको पाइन्छ। समयमा खानेकुरा खान नसक्दा वा कामको चाप , पारिवारिक सम्बन्धका कारण तनाव बढ्ने गर्दछ। निम्न खानेकुराको मात्र मिलाएर खान सकेमा केही हदसम्म तनावबाट मुक्ति मिल्नेछ।
ब्रोकाउली– ब्रोकाउलीमा फोलिक एसिड पाइन्छ, जसले तनाव कम गर्न मद्दत गर्दछ। तनावपूर्ण अवस्थामा खानासँग ब्रोकाउली खानु उपयुक्त हुन्छ।
चिसो पानी– तनाव उत्पन्न भएको बेला चिसो पानी पिउनु पनि लाभदायक हुन्छ। चिसो पानी पिएर खुला ठाउँमा डुल्न गयो भने रगतमा इन्डोर्फिन नामक तत्व उत्सर्जन हुन्छ, जसले दिमागलाई तनाव मुक्त गराउँछ।
दुध– दुधमा ट्राइप्टोफान नामक तत्व हुन्छ, जुन खाएपछि दिमागलाई फ्रेस र कुल बनाउने सेरोटोनिन नामक तत्वमा परिवर्तन हुन्छ। साथै, दुधमा पाइने क्याल्सियम, म्याग्नेसियम र पोटासियमले तनावको घडीमा रक्तचाप बढ्नबाट पनि जोगाउँछ।
कुरिलो– तनाव उत्पन्न भएको बेला शरीरलाई शान्त र पूर्ववत अवस्थामा ल्याउन भिटामिन बीको आवश्यकता पर्छ। त्यही भएर तनाव उत्पन्न भएको बेला कुरिलोको तरकारी, झोल अथवा अचार खानु लाभदायक हुन्छ।
केरा– केरामा पोटासियम र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छन्। केरा खानाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ। तनाव छ भने, दिनमा दुइटा केरा खाने गर्नुहोस्।
स्याउ– स्याउमा फोस्फोरस र आइरन प्रशस्त मात्रामा पाइन्छ, जसले तनाव कम गर्न मद्दत गर्दछ। तनाव उत्पन्न भएको बेला खुम्चिएका कोषिकालाई यसले पूर्वअवस्थामा ल्याउन मद्दत गर्दछ, जसले गर्दा तनावको असर कम हुँदै जान्छ। खासगरी तनावपूर्ण अवस्थाबाट गुज्रिएको बेला प्रतिदिन एउटा स्याउ खानु उपयुक्त हुन्छ।
अमला– अमला पनि तनावको असर कम गर्न उपयोगी फल हो। अमलामा भिटामिन सी पाइन्छ जसले तनाव उत्पन्न भएका कारण रगतमा आएको रासायनिक परिर्वतनलाई पूर्ववत अवस्थामा पु¥याउन मद्दत गर्छ। त्यही भएर तनावपूर्ण दिनहरूमा प्रतिदिन दुइटा अमला खाने गर्नु राम्रो हुन्छ।
जौ– जौमा घुलनशील फाइबरको मात्रा उच्च हुन्छ, जसले तनावका कारण कोलेस्टरोलको मात्रामा हुनसक्ने वृद्धि र मुटुसम्बन्धी रोगलाई रोक्न मद्दत गर्छ। तनावपूर्ण दिनमा जौको पिठोबाट बनेका खानेकुरा खानु राम्रो हुन्छ।