काठमाडौं — काठमाडौंको एक पाँचतारे होटलमा अनधिकृत रुपमा शैक्षिक एक्स्पोको तयारी भइरहेको छ। शैक्षिक मेला वा प्रदर्शनी गर्दा शिक्षा मन्त्रालय वा मन्त्रालयले तोकेको निकायबाट स्विकृती लिनुपर्ने प्रावधानको बेवास्ता गर्दै मेला आयोजना गर्न लागिएको हो।
‘ईन्टरनेशनल स्टुडेन्टस नेटवर्कको नाममा होटल बुक गरिएको छ,’ मेला हुन लागेको नक्सालको नागपोखरीस्थित काठमाडौं म्यारियट होटल श्रोतले भन्यो, ‘मेला ४ बजेदेखी ७ बजेसम्म चल्नेछ।’ यसको जानकारी ‘अमेरिकन एजुकेशन एक्स्पो ईन ईन्डीया’ नाम गरेको फेसबुक पेजबाट पनि गराइएको छ।
अमेरिकामा अध्ययन गर्न चाहने विद्यार्थीरुलाई परामर्श दिनका लागि अमेरिकाको विभिन्न विश्वविद्यालयका प्रतिनीधीहरुको उपस्थितीमा मेलाको आयोजना गर्न लागिएको आयोजकले फेसबुकमार्फत जारी गरेको प्रचारसामग्रीमा उल्लेख छ।
ईक्यान भन्छ: सम्बन्धित निकाय सकृय भएन
यस बिषयमा पत्राचार गर्दा पनि सम्बन्धित निकायले चासो नदेखाएको नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)का अनुशासन विभाग प्रमुख रत्न भट्टराईले बताए।
‘हामीले शुक्रबार नै प्रहरीलाई वोधार्थ राखेर शिक्षा मन्त्रालयअन्र्तगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखामा पत्र पठाएका हौँ,’ नेपाली पब्लिकसँग कुरा गर्दै उनले भने, ‘सम्बन्धित शाखाका प्रमुख उपसचिव फटिक केसी ज्यूलाई भेटेर पत्र दिएका हौँ बारम्बार फोन गरेर पनि यस बिषयमा दवाव दिई रहेका छौँ।’
ईक्यानले पठाएको पत्रको बिषयमा सम्बन्धित निकायले सक्रियता नदेखाएको अनुशासन विभाग प्रमुख भट्टराईले गुनासो गरे। ‘सकृय रुपमा लागेजस्तो नै लाग्दैन,’ उनले भने, ‘शिक्षा निती नै स्पष्ट छैन्जस्तो कुरा गर्नुभयो।’
सम्बन्धित शाखा प्रमुख भन्छन्, ‘कहिँबाट स्विकृती लियो होला’
यो मेला आयोजनाका लागि आयोजकले स्विकृती लिए/नलिएको बारे सम्बन्धित निकाय नै बेखबर छ। शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख फटिक बहादुर केसीले यस बिषयमा अनभिज्ञता जाहेर गर्दै भने, ‘हामीबाट स्विकृती लिएको छैन्।’
‘यसरी मेला आयोजना गर्दा सम्बन्धित निकायको स्विकृती लिएको हुनुपर्छ, कहिँबाट स्विकृती लियो होला,’ केसीले भने। यद्दपी शैक्षिक मेला आयोजना गर्दा हाल केसी नै प्रमुख रहेको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट नै स्विकृती लिनुपर्ने हुन्छ।’
यस बिषयमा प्रहरीमा पनि पत्र गएको भन्दै उनले थपे, ‘प्रहरीमा पत्र गएको छ, उहाँहरुबाट के आउँछ अनि हेरौँला।’ प्रहरीले भने यस्तो बिषयमा सम्बन्धित निकायले मागेको सहयोग मात्र गर्दै आएको छ।