काठमाडौँ, २५ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई थप उपचारका लागि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको छ।
उनको श्वास प्रश्वासलगायतमा समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए।
गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि मेडिसिटीमा भर्ना गरिएको थियो। मेडिसिटी अस्पतालमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको उनले बताए।
उनका अनुसार ह्याम्स अस्पतालमा अधिकारीको डा भगवान कोइराला, डा.मनबहादुर केसी र डा.अर्जुन कार्कीलगायतका समूहले स्वास्थ्य उपचार गरिरहेको छ। ८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ। (रासस)