चितवन– नियमित औषधि सेवन गर्नुपर्ने बिरामिलाई एकै पटकमा तीन महिनाको औषधि दिन शुरु गरेको छ। स्वास्थ्य बिमा गरेर अस्पताललाई पहिलो बिन्दु छानेका बिरामीको सुविधालाई ध्यानमा दिई यो व्यवस्था गरेको हो।
एक महिनाका लागि मात्र औषधि दिने गरिएको थियो। बिरामीका लागि सहजहोस् भन्ने उद्देश्यले तीन महिनाको औषधि एकैपटक दिन शुरु गरिएको मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीले जानकारी दिएका छन्।
मधुमेह, उच्च रक्तचाप, दम, हाडजोर्नी, कोलस्ट्रोल, थाइराइडजस्ता समस्या भएका बिरामीलाई औषधि दिन शुरु गरिएको छ। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार चितवन र छिमेकी जिल्लाका सर्वसाधारणले जीवन बिमा गर्दा पहिलो बिन्दु भरतपुर अस्पताललाई रोजेका छन्।
छिमेकी जिल्ला तनहुँमा विपन्न वर्ग तोकिएको छ। सरकारले बिमा गरिदिएको छ। विपन्न वर्गको सुविधा लिने धेरैले भरतपुर अस्पताललाई पहिलो बिन्दु तोकेको उनले जानकारी दिए।
भरतपुर अस्पतालमा दैनिक एक हजार ३०० बिरामी बहिरङ्ग सेवामा उपचारका लागि आउने गर्दछन। बिमामा आउनेमध्ये ५० प्रतिशत हाराहारी नियमित औषधि सेवन गर्ने गरेको अस्पतालले जनाएका छन्।