काठमाडौं – पदको भागबण्डा नमिलेपछि नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को नयाँ नेतृत्वको चयन चुनावबाटै हुने भएको छ। सर्वसम्मत नेतृत्व चयन गर्ने क्रममा पदाधिकारीहरुको भागबण्डा नमिलेपछि वातावरण बिथोलिएको हो।
सर्वसम्मतीबाट नेतृत्व चयन गर्नका लागि पुर्व अध्यक्षहरुको टोली बनाएर जिम्मेवारी दिइएको थियो। सो टोलीमा ईक्यानका पुर्वत्रय अध्यक्ष राजेन्द्र बराल, अध्यक्ष दिपक गुरुङ र अरुण लामीछाने थिए। यहि टोलीले छनोट गरेको व्यक्तिलाई नेतृत्व दिने सहमती भएको थियो, ‘उहाँहरुले छानेको व्यक्तिलाई नै नेतृत्व दिने भनेको हो,’ ईक्यानका एक पदाधिकारीले भने, ‘त्यसो भन्दैमा हावादारी रुपमा अध्यक्ष छनोट गर्नु त भएन नि।’
पुर्व अध्यक्षहरुको कमिटीले अध्यक्ष पदका लागि ईक्यानका पुर्व अध्यक्ष प्रकाश पाण्डेलाई छनोट गरेको थियो। ‘प्रकाशजीको नेतृत्वमा मान्न हामी तयार थियौँ,’ यसपटकको चुनावमा उम्मेद्वारी दिने तयारीमा रहेका ईक्यानका एक सदस्यले भने, ‘तर, अध्यक्षलगायतका बाँकी अरु पदमा पनि उहाँहरुकै हिसाबले मान्छे ल्याउन खोज्नुभयो।’
अध्यक्ष पद प्रकाश पाण्डेलाई दिएर डेमोक्र्याटिक प्यानलले ३ मध्ये २ उपाध्यक्ष, २ मध्ये १ सचिव, कोषाध्यक्ष र ४ वटा कार्यसमिती सदस्यको पद माग गरेको थियो। ‘अध्यक्ष, महासचिव, एउटा उपाध्यक्ष, एउटा सचिव र ५ वटा सदस्य पद लिएर बाँकी हामीलाई दिनुस भन्दा नि मान्नुभएन्,’ डेमोक्र्याटिक प्यानलका एक प्रभावशाली सदस्यले भने, ‘जबकी अध्यक्षलाई २ जना थप सदस्य पद मनोनयन गर्ने अधिकार पनि अध्यक्षलाई नै हुन्छ।’
यता सर्वसम्मती जुटाउने अधिकार पाएको कमिटीका सदस्य दिपक गुरुङ भने अझै पनि सहमतीको प्रयास भईरहेको बताउछन्। ‘अध्यक्षमात्र नभएर कार्यसमिती नै सर्वसम्मतीमा बनाउने भन्ने कुरा थियो,’ उनले नेपालि पब्लिकसँग भने, ‘भएन भने त चुनावमा जानै पर्छ।’ सर्वसम्मतीको सम्भावना अझै बाँकी रहेको उनको भनाई छ।
यता डेमोक्रेटिक प्यानल भने सर्वसम्मतीको सम्भावना नदेखिएको भन्दै ईक्यानका हालका उपाध्यक्ष महेशबाबु तिमील्सिनाको नेतृत्वमा प्यानल घोषणा गर्ने तयारीमा लागेको छ। ‘हामी अहिले छलफलमा नै छौं केहिबेरमा निष्कर्ष निस्कन्छ,’ ईक्यानका उपाध्यक्ष तथा यसपटक अध्यक्षमा उम्मेद्वारी दिने भनिएका महेशबाबु तिमिल्सीनाले भने।
डेमोक्रेटिकतर्फ अध्यक्षमा महेशबाबु तिमील्सिनाले उम्मेद्वारी दिने बताइएको छ। त्यस्तै उपाध्यक्षमा बुद्धि प्रसाद रेग्मी, दिनेश ढकाल, बिक्रम के.सी र अघिल्लो पटक स्वतन्त्र उम्मेद्वारी दिएर यसपटक स्वतन्त्र उम्मेद्वारी दिने तयारीमा रहेका कृष्ण के.सी.मध्ये कोहि एकजनालाई अघि सार्ने तयारी भइरहेको छ भने महासचिवमा राजेन्द्र रिजालको नाम चर्चामा छ। यसैगरी सचिवमा एन्ड्र्यु पौडेल र कोषाध्यक्षमा प्रकाश श्रेष्ठको नाम पनि चर्चामा छ। भने सदस्य पदका लागि शिव त्रिपाठीलगायतले उम्मेद्वारी दिने तयारी गरिरहेका छन्।
उता अध्यक्षमा प्रकाश पाण्डे, उपाध्यक्षमा देबीदास भट्टराई र श्रीराम पौडेल, महासचिवमा शेषराज भट्टराई र दिपकराज भुषालमध्ये एकजनालाई उम्मेद्वार बनाउने बताइएको छ। सचिवमा भने बासुदेब दाहालको नाम अघि आइरहेको छ। ईक्यानको निर्वाचन भोली (शनिबारको लागि तोकीएको छ।)