काठमाडौं– मानसिक रुपमा स्वस्थ्य नभएसम्म शारीरिक रुपमा सक्षम नहुने भएकाले वैदेशिक रोजगारीमा जाने कामदारको शारीरिक परीक्षणसँगै उचित मनोपरामर्श दिनु आवश्यक भएको सरोकारवालाले बताएका छन्।
राष्ट्रिय मानवअधिकार आयोग र ‘कोशिश’ नामक संस्थाले संयुक्तरुपमा आयोजना गरेको ‘आप्रवासन र मानसिक स्वास्थ्य’ विषयको अन्तरक्रियामा सहभागी वक्ताले पारिवारिक वियोगसँगै गन्तव्य मुलुकमा आइपर्ने मानसिक तनाव व्यवस्थापनका लागि प्रस्थान पूर्वनै मानसिक स्वास्थ्य जाँच गरिनु आवश्यक भइसकेको बताए।
परिवारको समृद्धिका लागि विदेशिएको युवाले आप्रवासनका विभिन्न चरणमा मानसिक समस्या भोग्दै आएका छन्। वैदेशिक रोजगारीमा जाँदाको उच्च लागत, गन्तव्य मुलुकको भाषा तथा कानूनको ज्ञान नहुनु, कार्यस्थलमा अतिरिक्त बोझ, दुर्व्यवहार, परिवारसँगको विछोडलगायत कारणबाट आप्रवासी कामदार मानसिक समस्यामा फस्दै आएका छन्।
मानसिक समस्याबाट प्रताडित कतिपय युवाले आत्महत्यासमेत गर्दै आएका छन्। वैदेशिक रोजगारीमा आत्महत्या हुनुको प्रमुख कारण मानसिक समस्या रहेको पाइएको छ। पछिल्लो दश वर्षको अवधिमा वैदेशिक रोजगारीमा रहेका ८९२ ले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्डले जनाएका छन्।
बोर्डको तथ्याङ्कअनुसार आत्महत्या गर्नेको सङ्ख्या वार्षिकरुपमा वृद्धि हुँदै गएको छ। आर्थिक वर्ष २०६५/०६६ मा ९, आव २०६६/०६७ मा २४, आव २०६७/०६८ मा ६४, आव २०८६/०६९ मा ६६, आव २०६९/०७० मा ८१ र आव २०७०/०७१ मा ९३ जनाले विभिन्न गन्तव्य मुलुकमा आत्महत्या गरेका छन्। यस्तै आव २०७१/०७२ मा ११३, आव २०७२/०७३ मा १०९, आव २०७३/०७४ मा ९०, आव २०७४/०७५ मा १३२ र आव २०७५/०७६ मा १११ जनाले विदेशी भूमिमा आत्महत्या गरेको बोर्डले जनाएको छ।
मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना ‘कल्चरल सक्ड’, परिवारसँगको विछोडका कारण एक्लोपन महसुस हुनु, मानसिक तनाव, कार्यस्थलको तनावका कारण आत्महत्या गर्ने अवस्थामा पुगेको बताएका छन्।
सिभिल अस्पतालका मनोचिकित्सक डा दिनेशकुमार लम्साल मानसिक समस्यासँगै शारीरिक समस्या पनि उत्तिकै महत्वपूर्ण भएको बताउनु हुन्छ। वैदेशिक रोजगारीमा जाने कोही पनि व्यक्तिको मानसिक स्वास्थ्य परीक्षण गर्ने प्रचलन रहेको छैन, फर्केका व्यक्तिमा पनि उत्तिकै समस्या छ, शारीरिक परीक्षणमात्र गरिन्छ, मानसिक समस्या भएका व्यक्तिले कसरी काम गर्छन।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक प्रारम्भिक अध्ययनबाट १३ प्रतिशत कुनै न कुनै प्रकारको मानसिक समस्या देखिएको छ। वैदेशिक रोजगारीमा जाने कामदारमा झन् यो समस्या भएको हाे।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका मानसिक रोग विभागका प्रमुख सरोज ओझा वैदेशिक रोजगारीमा गएका व्यक्ति मात्र नभई परिवार पनि मानसिकरुपमा विक्षिप्त हुने गरेको बताउनुहुन्छ। वैदेशिक रोजगारीबाट मानसिक समस्या झेलेर उपचारको खोजीमा शिक्षण अस्पताल आएका व्यक्तिको अध्ययन गर्दा ३० प्रतिशतमा ‘डिप्रेसन’को समस्या देखिएको उहाँको भनाइ छ।
वैदेशिक रोजगारीमा जानुपूर्व मानसिक स्वास्थ्य जाँच गरिनु अत्यन्त आवश्यक छ, गन्तव्य मुलुकमा पनि मानसिक उपचारका लागि संवाद गर्नुपर्छ, उहाँले भन्नुभयो, अब गन्तव्य मुलुक पनि जिम्मेवार बन्नुपर्छ, कामदारको मानसिक समस्यालाई शारीरिक समस्यासरह हेर्न उहाँले सुझाव दिनु भएको छ।
मनोविद् ठगुन्ना ‘साइको थेरापी’ र ‘काउन्सलिङ’बाट ९० प्रतिशत मानसिक रोगको समाधान हुने बताउनुहुन्छ। “यो धेरै खर्चिलो पनि छैन, गन्तव्य मुलुकका स्वास्थ्य संस्थासँग सम्पर्क राखिदिनुपर्छ”, उहाँ भन्नुहुन्छ।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक राना वैदेशिक रोजगारीमा जाने क्रममा चर्को सेवा शुल्क तिर्नुपर्ने कारणबाटै कामदार मानसिक समस्यामा पर्ने गरेको बताउनु भएको छ।
“अपारदर्शी भर्ना प्रक्रियाबाट कामदारमा मानसिक तनाव उत्पन्न हुन्छ, त्यस्तै गन्तव्य मुलुकमा न्यायमा पहुँच हुँदैन, सानो मानसिक समस्याले आत्महत्या जस्तो विकाराल रुप लिँदैछ, यसमा सबै गम्भीर बन्नु पर्छ”, उहाँले भन्नुभयो।
अभिमुखीकरण व्यवसायी महासङ्घका अध्यक्ष राजाराम गौतम पछिल्लो समय अभिमुखीकरण पाठ्यक्रममा परिमार्जन गरी मानसिक समस्या, तिनको समाधानका उपायबारे कामदारलाई अभिमुखीकरण दिने गरिएको बताउनुहुन्छ।
पछिल्लो समय प्रस्थान पूर्व, प्रस्थान गर्दा, गन्तव्य मुलुकमा हुँदा र स्वदेश फर्कदा आइपर्ने मानसिक समस्या समाधान गर्ने गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिँदै आएका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष विष्णु गैरे कामदारलाई मानसिक स्वास्थ्यका बारेमा जानकारी दिनुपर्ने बताउनुहुन्छ। कामदारको मनोपरामर्शमा सरकारसँग सहकार्य गर्न व्यवसायी तयार रहेको उहाँको भनाइ छ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक जान श्रेष्ठ मानसिक समस्यामा पर्ने नेपाली कामदारको सङ्ख्या अधिक रहेको पाइएको हुँदा अभिमुखीकरणको क्रममा तनाव व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताउनुहुन्छ।
“श्रव्यदृश्यको माध्यमबाट हामीले कामदारलाई तनाव व्यवस्थापनका बारेमा तालिम दिँदै आएका छौँ”, उहाँले भन्नुभयो, वैदेशिक रोजगारीमा गएका परिवारलाई लक्षित गरेर सुरक्षित आप्रवासन परियोजनामार्फत ३९ जिल्लामा मनोसामाजिक परामर्श दिँदै आएका छौँ। फेरि पनि आप्रवासी कामदारलाई मानसिक रुपमा स्वस्थ्य राख्न हाम्रो प्रयास जारी छ।
आयोगका सदस्य सुदिप पाठकले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा मानसिक स्वास्थ्य गम्भीर विषय भएको र यो आयोगको चासोको विषयसमेत भएको बताउनु भएको छ। रासस