काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ पूर्व जानकारीबिनै ठमेलस्थित छायाँ सेन्टरमा बायोमेट्रिक्सका लागि त्यहाँ पुगेको खुलेको छ।
उनी शुक्रबार बिहान ८–९ जनाको टोली लिएर पूर्व जानकारीबिनै ठमेलस्थित छायाँ सेन्टरमा बायोमेट्रिक्सका लागि त्यहाँ पुगेको खुलेको हो। क्यानडाको भिसा आवेदन गर्न त्यहाँ पुगेका उनलाई गरुड सेक्युरिटीअन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग गुरुङले लाइनमा बस्न भनेका थिए।
गुरुङले नियमअनुसार लाइनमा बस्न भन्दा उनीलगायत उनको टिमका सदस्य आक्रोशित भएका थिए। त्यसपछि त्यहाँ काम सकेर उनीहरुले प्रहरीलाई खबर गरेपछि गुरुङ पक्राउ परेका थिए।
यसअघि बायोमेट्रिक्सका लागि जाने भीआईपीहरुले पूर्व जानकारी दिएर आउने गरेका थिए। स्रोत भन्छ, ‘मन्त्रीज्यूले एक दिन त के एक घण्टा अगाडि जानकारी दिएर आउनुभएको भए यो घटना हुने नै थिएन। सेक्युरिटी गार्डले त आफ्नो ड्यूटी पुरा गरेको हो।’
शुक्रबार नै प्रहरी दुबै पक्षसँग छलफल गरेर गुरुङलाई छोड्ने तयारी गरेको गरेको थियो। तर, मन्त्री पक्ष छलफलका लागि आएन। ऋहिले पनि मन्त्री पक्षले छलफल गर्न अस्वीकार गर्दै आएको छ।
जसका कारण गुरुङ प्रहरी नियन्त्रणमै छन्। पक्राउ परेका सेक्युरिटी गार्ड गुरुङमाथि दुर्व्यवहार गरेको भन्दै अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरिएको छ।
बायोमेट्रिक्समा कार्यरत एक कर्मचारी भन्छन्, ‘सबै भीआईपी जानकारी दिए आउँथे। सजिलै काम हुन्थ्यो। तर, सबैले मन्त्रीलाई चिन्दैनन्। नियमअनुसार आउन भन्दा थर्काउने, मुद्दा हाल्ने कुरा उचित भएन।’