जनकपुर । तिहार तथा छठ पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन धनुषामा १ हजार २४० भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
जिल्लामा चाडपर्वका बेला हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना लागू गरिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए । शनिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा डीएसपी खनालले तिहारका समयमा जुवातास, पटका, आगलागी तथा चोरीका घटनालाई नियन्त्रण गर्न सुरक्षा निगरानी बढाइएको बताए ।
उनका अनुसार सुरक्षाका लागि सादा पोशाकमा प्रहरी परिचालन गर्नुका साथै पैदल र मोटरसाइकल गस्तीलाई समेत तीव्रता दिइएको छ । रातिको समयमा विशेष निगरानी तथा एम्बुसिङ टोलीसमेत खटाइएको उनले जानकारी दिए । चाडपर्वमा धेरै मानिस घर छाडेर अन्यत्र जाने भएकाले घर तथा सम्पत्तिमा चोरी हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै प्रहरीले निगरानी बढाएको छ । घरबाट बाहिर जानुपर्ने अवस्थामा नजिकको प्रहरी युनिट, छिमेकी वा आफन्तलाई जानकारी गराउन प्रहरीले नागरिकलाई आग्रह गरेको छ ।
सम्भव भएसम्म घरको रेखदेखका लागि विश्वासिलो व्यक्ति राख्नसमेत डीएसपी खनालले अनुरोध गरेका छन् । त्यसैगरी, भीडभाड हुने स्थान तथा सार्वजनिक कार्यक्रममा सहभागी हुँदा महँगा सुनका गहना तथा अन्य बहुमूल्य सामग्री नलगाउन प्रहरीले सर्वसाधारणलाई सुझाव दिएको छ । तिहार, छठलगायतका चाडपर्वलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा मनाउने व्यवस्था मिलाउन धनुषामा सुरक्षा परिचालनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।