वीरगञ्ज - बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव सहित ११ जना धरौटीमा छुटेका छन्।
राहत बाढ्नका लागि कुहिएको दाल वितरण गरेको आरोपमा पक्राउ परेका यादवसहित ५ जना वडाध्यक्ष, दाल मिलका सञ्चालक,कर्मचारीहरु गरि ११ जना धरौटी तिरेर छुटेका हुन्।
धरौटीमा रिहा हुनेहरुमा मेयर यादवसहित वडा नम्बर १ का वडाध्यक्ष हरिओम सोनार, ७ का सर्फुल्लाह अन्सारी, ११ का सर्वनारायण चौधरी, १३ का राजनप्रसाद कुर्मी, २६ का महेश साह, २७ का रियाजुल अन्सारी,मेयर यादवका काकाको छोरा रविन्द्र यादव, यादव आइस एण्ड कोल्ड स्टोरका कर्मचारी बच्चु यादव, कृष्ण प्रसाद यादव, धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैन रहेका छन्।
मेयर यादव र धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनले २ लाख ८१ हजार धरौटी तिरेर रिहा भए भने वडाध्यक्षसहित अन्य भने ६० हजार धरौटी तिरेर रिहा भएका हुन्।वडा नम्बर २० वडा सचिव खेदु मियाँको भने सँलग्नता नदेखिएपछि उनलाई छाडिएको थियो।
राहतमा गुणस्तरहीन दाल बितरण गरेको पुष्टि भएपछि मेयर यादव सहित ११ जना विरुद्ध प्रहरीले कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराएकाे थियाे।