काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजगद्दीमा फर्काउनुपर्ने मागसहित ललितपुरको लगनखेलमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको छ।
राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको पक्षमा अभियान चलाउँदै आएको शाही युवा शक्ति नेपालको आयोजनामा शुक्रबार दिउँसो लगनखेलमा हस्ताक्षर संकलन गरिएको हो। ललितपुर महानगरपालिका–५ स्थित न्हु पोखरी पार्कको प्रवेशद्वार अगाडि अभियान सञ्चालन गरिएको छ। त्यहाँ देबु खड्काको नेतृत्वमा दुई जना खटिएर सर्वसाधारणसँग हस्ताक्षर संकलन गरिरहेका छन्।
अभियानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिरसहित ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान, २०८३ मा सहभागी बनौँ’ भन्ने सन्देश लेखिएको ब्यानर राखिएको छ। त्यस्तै, ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्ने नारासहितको फ्लेक्स बोर्डसमेत प्रदर्शन गरिएको छ। राजसंस्थाको पक्षमा जनसमर्थन जुटाउने उद्देश्यले शाही युवा शक्तिले लामो समयदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा टोली परिचालन गरेर हस्ताक्षर अभियान सञ्चालन गर्दै आएको छ। लगनखेलमा गरिएको हस्ताक्षर संकलन पनि सोही अभियानको निरन्तरता रहेको जनाइएको छ।