काठमाडौं ।परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ईपीजी ले तयार पारेको प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेस हुने अपेक्षा गरेको छ।
प्रतिवेदन बुझाउने प्रक्रिया दुवै पक्षको सहमतिअनुसार अघि बढ्ने विश्वास मन्त्रालयले व्यक्त गरेको हो।शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ईपीजी प्रतिवेदन दुवै प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्न आवश्यक समय उपलब्ध हुने विश्वास व्यक्त गरे।उनका अनुसार ईपीजीका नेपाली टोलीका संयोजक भेषबहादुर थापाले उमेरका कारण प्रतिवेदन राखिएको साँचो २०८३ जेठ २१ गते परराष्ट्र सचिवलाई हस्तान्तरण गरेका थिए। यसअघि दुवै पक्षबीच प्रतिवेदन सुरुमा भारतीय प्रधानमन्त्री र त्यसपछि नेपाली प्रधानमन्त्रीसमक्ष बुझाउने कार्यतालिकामा सहमति भएको थियो।
ईपीजी गठनको उद्देश्यअनुसार प्रतिवेदनमा समेटिएका नेपाल–भारत सम्बन्धका द्विपक्षीय विषयमा दुवै देशले सहकार्यलाई निरन्तरता दिनुपर्ने सरकारको धारणा रहेको प्रवक्ता क्षेत्रीले बताए।यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप व्यवस्थित र समयसापेक्ष बनाउन संयुक्त भिजन डकुमेन्टमार्फत मार्गनिर्देशन गरेको मन्त्रालयले जनाएको छ।प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गरेका थिए। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको छलफलपछि दुवै देशले संयुक्त पत्रकार सम्मेलनमार्फत भिजन डकुमेन्ट सार्वजनिक गरेका थिए। उक्त दस्तावेजमा समेटिएका विषय कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाले सम्बन्धित निकायसँग पत्राचार र समन्वय गरिसकेको क्षेत्रीले जानकारी दिए।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच विद्यमान सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्ने सहमति भएको पनि मन्त्रालयले जनाएको छ। यसका लागि दुवै देशका परराष्ट्र सचिव र विदेश सचिवलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको प्रवक्ता क्षेत्रीले बताए।लामो समयदेखि समाधान हुन नसकेका सीमा सम्बन्धी विषयमा छलफल गर्न दुवै पक्षलाई अनुकूल हुने समयमा नेपालका परराष्ट्र सचिव र भारतका विदेश सचिवबीच बैठक बस्ने तयारी रहेको उनले जानकारी दिए। उक्त बैठकमार्फत सीमा समस्याको समाधान प्रक्रिया अघि बढाइने मन्त्रालयको अपेक्षा छ।