एजेन्सी– छोरीभन्दा छोरा सर्वश्रेष्ठ मान्ने र सोहीकारण गर्भमै छोरीको हत्या हुने घटना भारतको लागि कुनै नौलो कुरा होइन। तर छोराको चाहनामा गर्भमै छोरीको हत्या गर्ने मामिलामा भारत मात्रै हैन, चीन पनि उत्तिकै अभिशप्त रहेको खबरहरु प्रकाशमा आएको छ।
खासगरी, हङकङमा रगतबाटै ७ देखि १० हप्तासम्मको भ्रुणको पनि लिङ्ग पहिचान गर्न सकिने प्रविधि प्रचलनमा छ। सोही प्रविधिको दुरुपयोग गर्दै चीनबाट हङकङमा अनलाइन कम्पनीहरुको माध्यमबाट लुकीचोरी रगत पठाउने गरिएको छ।
चीनमा सन् २००२ देखि नै लिङ्ग जाँच गर्ने कुरा गैरकानूनी घोषित भइसकेको छ। तर विडम्बनाको कुरा के छ भने, हङकङमा त्यो कुरा वैधानिक छ। त्यहाँका क्लिकिनहरुमा गर्भवतीको रगतको नमूना जाँचेरै ७ देखि १० हप्तासम्मको भ्रुणको पनि छोरा वा छोरी के छ, लिङ्ग छुट्याउने गरिएको छ।
रगतको नमूना हङकङसम्म पुर्याउनका लागि थुप्रै गिरोहहरु सक्रिय रहेका छन्। उनीहरुले यस कार्यमा बुढापाका महिलाहरुदेखि स्कुले छात्राहरुलाई समेत उपयोग गर्ने गरेका छन्। केहीसमयअघि मात्रै पनि त्यस्ता रगतका नमूना लिएर हङकङ जाँदै गरेका थुप्रै स्कुले छात्राहरु पक्राउ परेका थिए। रगतको तस्करी गर्ने ती गिरोहहरुले रगतको प्रतिनमूना १.५ देखि ५ हजारसम्म खर्च गर्ने गर्छन्।
बढ्दो लैङ्गिक खाडलः
सन् १९७० मा चीनमा एकमात्र बच्चा पाउने नीति लागू भएपछि त्यहाँ लिङ्गभेदले बढावा पाएको हो र त्यहीकारण ठूलो संख्यामा भू्रण हत्या भयो। सन् २०१५ आएर चीनको एउटा मात्र बच्चा पाउने बन्देज हटाइयो। तर त्यसपछि पनि त्यहाँ छोराको चाहनामा भू्रण हत्या हुने क्रम चाहिँ रोकिएन।