काठमाडौं– सुर्ती सेवन गर्नेमा मात्र होइन, (दम) को रोग नगर्नेहरूमा पनि यो रोग रहेको छ। चुरोट खानेहरूभन्दा घरमा हुने वायु प्रदूषणले गर्दा मानिसमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गरेको पाइएको छ। वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा.राजु पङ्गेनीले प्रदूषणकै कारण नेपालमा दमरोग बढेको बताएका छन्।
प्रदूषणले उपत्यकामा दमरोग बिरामीको संख्यामा वृद्धि हुँदै गएको उनले बताए। डाक्टरका . अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शिक्षण अस्पताल, कान्ति बालअस्पताल लगायतका अस्पतालहरूमा दमका बिरामीको संख्या बढ्दै गएको छ। डाक्टर का अनुसार सहरी क्षेत्रका १५ प्रतिशत जनसंख्यामा दमसम्बन्धी रोग लागेको जानकारी दिँदै काठमाडौँका मुख्य अस्पतालमा दैनिक १५ देखि २५ जना व्यक्ति दमको समस्या लिएर आउने गरेको बताएका छन्।
भक्तपुरमा तीन वर्ष लगाएर गरिएको सर्वेक्षणमा समेत १५ प्रतिशत मानिसलाई दमरोग लागेको थियो। तथ्याङ्कअनुसार विश्वमा २५ करोड मानिस दमरोगी रहेको पाइएको छ। तीमध्ये प्रतिवर्ष ३० लाख मानिसको दम तथा खोकीकै कारण ज्यान जाने गरेको छ। यस्ता रोगीहरूमध्ये ९० प्रतिशत नेपालजस्तो अल्पविकसित वा विकासशील मुलुकका नागरिक रहेका छन्।
विश्व रोगभार सर्वेक्षण २०१६ ले नेपालमा नौ लाख ६० हजार मानिसमा दमका बिरामी रहेको जनाएको छ। विश्वमा प्रतिलाख जनसंख्यामा तीन हजार छ सय दमखोकीका बिरामी छन् भने नेपालमा चार हजार आठ सयको संख्यामा छन्। त्यसैगरी नेपालमा प्रतिवर्ष १६ हजार व्यक्तिको मृत्यु दमखोकीकै कारण हुने गर्दछ। त्यसमा पनि प्रतिलाखमा १२० महिला र १०३ पुरुष दम तथा खोकीकै कारणले मृत्यु भइरहेको हुन्छ। डा. पङ्गेनीले दमखोकीका कारण मृत्यु हुने महिलाको संख्या बढिरहेको जानकारी दिएका छन्।
नेपालमा दमको समस्या अत्यधिक रहेको र दमखोकी रोग लागिसकेपछि निको नहुने हुँदा अस्वस्थ मानिसको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ। ४५ वर्षमाथिका व्यक्तिलाई दमरोग लाग्न शुरु हुने र बढी उमेरका मानिसमा दमखोकीको समस्या बढी हुने, पाका उमेरका मानिसको संख्या पनि थपिँदै गएकाले दमखोकीको बिरामी बढेका छन्।
वरिष्ठ छातीरोग विशेषज्ञ डा. अङ्शेष ढुङ्गानाले प्रदूषणकै कारण दमरोगका बिरामीको संख्या बढ्दै गएको बताएका छन्। उनले दम तथा श्वासप्रश्वास रोगको प्रमुख कारक तत्व धूमपान र वायु प्रदूषण मुख्य रहेको बताए। उनले धूमपानले गर्ने असरमध्ये दमखोकी एक प्रमुख समस्या रहेको जानकारी दिएका छन्। उनले २७ प्रतिशत पुरुष र ६ प्रतिशत महिलाले धूमपान गर्ने गरेको जानकारी दिएका छन्।