काठमाडौं– काउली खाँदा क्यान्सरबाट बच्न सकिन्छ। काउली खानाले क्यान्सरका कोषहरू लाई बृद्धि हुन नदिई निष्क्रिय पार्छ।
काउलीमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन मद्दत गर्दछ। यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ। जति धेरै काउली आफ्नो खानामा भयो उति नै राम्रो हुन्छ। एक अध्ययनले त हप्तामा धेरै काउली खाने महिलाको स्तन क्यान्सर हुने सम्भावना ७२ प्रतिशतले कम देखाएको छ।
काउली खाने विधिः
एक अध्ययनका अनुसार काउलीलाई धेरै पकाएमा क्यान्सर विरुद्ध लड्ने तत्वहरू नाश हुने सम्भावना रहन्छ। विज्ञहरू यसलाई काँचै खान सल्लाह दिन्छन्। विज्ञहरुको सुझाव छ, ‘काउलीलाई एउटा नुनपानी भएको भाँडामा करिब चार घन्टा जति डुबाउने र चिसो पानीले मज्जाले पखालेर खाने।’ यसलाई लेदो बनाएर पनि अन्य विभिन्न परिकारको मिश्रण गरेर खान सकिन्छ। साथै सलाद बनाई खाएमा धेरै नै उत्तम हुन्छ।
काउलीलाई काटेर नुनको पर्याप्त मात्रा मिलाई मजाले थिचेर बोतलमा राख्दा यसबाट निस्केको रसले विस्तारै अमिलोपना विकास गर्छ। चारदेखि सात दिनभित्र यसरी राखिएको काउली खानका लागि उपयुक्त हुन्छ। यसरी राखिएको काउलीमा क्यान्सर विरुद्ध लड्ने रसायनहरूको राम्रो विकास हुन्छ र शरीरलाई फाइदा गर्छ।
पौष्टिक तत्वः
१२८ ग्राम काउली खाएमा शरिरले धेरै पौष्टिक तत्वहरु पाउँछ। काउलीमा धेरै मात्रामा फाइबर पाइने र कम क्यालोरी हुने भएकाले तौल घटाउँनका लागि काउली उपयुक्त खानेकुरा मानिन्छ। यसमा भएको फाइबरले पेटमा सकारात्मक ब्याक्टेरियाहरु बढाउँछ र पेटको जलन पनि कम गराउँछ, जसले पाचन प्रणाली सुधा गर्छ।
काउलीका अन्य फाइदाः
काउली भिटामिन ‘के’ र ‘सी’को मुख्य स्रोत हो। एक बटुका काउली मात्र खपत गर्दा शरीरलाई चाहिने ९१ प्रतिशत भिटामिन ‘के’ र ५० प्रतिशत भिटामिन ‘सी’ उपलब्ध हुन्छ। काउलीले एलर्जी हुने सम्भावना कम गर्छ, हड्डी दह्रो बनाउन र पाचन प्रणालीलाई राम्रो बनाउँछ। यसले मुटुमा लाग्ने रोगहरूबाट बच्न पनि धेरै मद्दत गर्दछ।