काठमाडौं– बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक मिर्गौला पीडितहरुले प्रदर्शन गरेका छन्। उनीहरुले निःशुल्क हेमोडायलासिसलगायतको सुविधा उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेका हुन्।
पीडितहरु १४ बुँदे ज्ञापनपत्र लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने लक्ष्यले बालुवाटार पुगेका थिए। तर प्रधानमन्त्रीले समय नदिएको भन्दै उनीहरु नाराबाजी गर्दै फर्किएका थिए।
सुरक्षाकर्मीहरुले पीडितका केही प्रतिनिधिहरुलाई प्रधानमन्त्री निवासको मूल गेटबाट भित्र पनि प्रवेश गराएका थिए। तर, भेट्न नपाएपछि उनीहरु फर्किए। प्रधानमन्त्री आफैं मिर्गौला पीडित भएर पनि आफूहरुको गुनासो नसुनेको भन्दै उनीहरुले आक्रोश पोखे।
सोमबार बिहान मिर्गौला पीडित सरोकार समाजको नेतृत्वमा बालुवाटार पुगेका पिडितहरुले जीवीकोपार्जन वापतको मासिक भत्ता, डायलासिसमा दिँदै आएको सुविधा यथावत राख्न माग गर्दै प्रदर्शन गरे।
जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने, निःशुल्क हेमोडाइलाइसिसको सुविधा पाउनुपर्ने, विरामी कुरुवा बस्ने स्थानको उचित व्यवस्था हुनुपर्ने, डायलासिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्नेलगायत पीडितहरुको माग रहेको छ।