काठमाडौं– गाउँ घरमा हुने जडिबुटीहरु कतिपय हामीले पहिचान गर्न सकेका हुँदैनौं। र कतिपय थाहा पाउँदा–पाउँदै पनि प्रयोग गर्ने तरिका नजानेर खेर गइरहेका हुन्छन्। कतिपय महत्वपूर्ण जडिबुटी कौडीको भाउमा बेचेर त्यसबाट बनेका महँगो मुल्यमा औषधीहरु किन्न बाध्य छौं।
गाउँघरमा पाइने पानी अमलाको बारे केही चर्चाः
अमलासँग परिचित भएपनि पानी अमलाबारे कतिपयलाई थाहा छैन होला। तर पानी अमला वन जंगलमा पाइने एउटा वनस्पति हो। जंगलमा पाइने एक किसिमको झार, जसको जमिन मुनि फलेको दाना औषधिको रुपमा खाइन्छ। जसलाई पानी अमला अर्थात भुइँ अमला पनि भन्ने गरिन्छ।
पानी अमलाको प्रयोगः
पानी अमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुने आयुर्वेदले जनाउँछ। पानी अमलाको बोटलाई पिधेर निस्किएको एक चौथाई रसलाई मिश्री पानीमा मिलाएर पिउँदा पनि हुन्छ। यो मधुमेहका रोगीकालागि पनि लाभदायक मानिन्छ।