नुवाकाेट, १४ माघ - जिल्ला अस्पताल त्रिशूलीमा दरबन्दी रहेका चिकित्सक काठमाडाैँ बस्दा नुवाकोटको स्वास्थ्य सेवा प्रभावित भएको छ। जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक अभावले काठमाडाैँ जानुपर्ने बाध्यता रहेको छ।
चिकित्सककै अभावले जिल्ला अस्पताल त्रिशूलीमा रहेका बिरामी काठमाडाैँ पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल त्रिशूलीले जनाएको छ। सहज र सुविधायुक्त स्वास्थ्यसेवा प्रवाह गर्ने राज्यले घोषणा गरे पनि जिल्लास्थित स्वास्थ्य संस्थामा भने चिकित्सक आउन नमान्दा समस्या भएको जिल्ला अस्पताल त्रिशूलीका निमित्त प्रमुख देवकी खतिवडाले बताइन्।
तीन जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पताल नुवाकोटमा सबै दरबन्दी रिक्त रहेको छ। विगत ६ महीनादेखि विशेषज्ञ चिकित्सक अभावमा गम्भीर बिरामी उपचारका लागि काठमाडौँ गइरहेका छन्। दैनिक रूपमा २ सयभन्दा बढी बिरामी अस्पताल आउने गरेका छन्।
भूकम्पले पूर्ण रूपमा क्षति पुगेको जिल्ला अस्पतालको नयाँ संरचना निर्माण भइरहेको छ। ५५ शय्याको जिल्ला अस्पताल भूकम्पपछि २५ शय्या मात्रै राखेर सेवा प्रवाह गर्दै आएको थियो। तर, बिरामीको चाप बढेसँगै ३७ शय्या बनाइएको छ। जिल्ला अस्पताल त्रिशूलीमा दरबन्दीमा रहेका चिकित्सक काजमा भन्दै काठमाडाैँमा नै बसिरहेका छन्।
प्रदेश र सङ्घअन्तर्गत जिल्ला अस्पताल विकास समितिले काजमा गएका चिकित्सक जिल्लामा नै पठाउनका लागि आग्रह गरे तापनि सुनुवाइ नभएको अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद भट्टले बताए। अस्पतालमा दैनिक नुवाकोट, रसुवा र धादिङका बिरामीसमेत उपचारका लागि आउने गरेका छन्।(रासस)