नुवाकोट– नुवाकोटको लिखु गाउँपालिका–६ थानसिंहमा स्वास्थ्य एकाइ कार्यालय सञ्चालनमा आएको छ। लिखु गाउँपालिकाको सामाजिक विकास शाखामार्फत ‘सुविधा सामुदायिक एकाइ’ले बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको छ। नागरिकको स्वास्थ्य सुधारमा सेवा पु¥याउने स्थानीय सरकारको लक्ष्य कार्यान्वयनअन्तर्गत स्वास्थ्य एकाइ कार्यालय शुरु गरिएको गाउँपालिका अध्यक्ष धुव्र श्रेष्ठले जानकारी दिएका छन्।
उनका अनुसार एकाइलाई सुविधा सम्पन्न नयाँ भवन निर्माण गर्न शुरु गरिसकेकाले अबको एक वर्ष्भित्रै बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी सञ्चालन गर्ने लक्ष्य राखिएको छ। स्वास्थ्य एकाइ कार्यालयले स्थापना भए पनि आवश्यक औषधि, जनशक्ति र उपकरणको व्यवस्था मिलाएर प्रभावकारी बनाउन आफू लागि पर्ने वडा नं ६ का वडाध्यक्ष हरिशरण लामिछानेले बताएका छन्।
हाल स्वास्थ्य एकाइमा एकएक जना एचए, अनमी र कार्यालय सहयोगी दुई जना गरी चार जनाको दरबन्दीअनुसार कर्मचारीको व्यवस्था गरिएको छ। उक्त कार्यालयबाट नेपाल सरकारमार्फत उपलब्ध गराइएको निःशुल्क औषधि, खोप सेवा, सामान्य स्वास्थ्य जाँच तथा परीक्षण सुविधा सञ्चालनमा ल्याइएको हो।
हाल स्थापना गरिएको स्वास्थ्य एकाइको कार्यालय हाल भाडाको भवनबाट सञ्चालनमा ल्याइएको छ भने नयाँँ भवन बनाउन स्थानीय भगवती पाण्डे र कल्याणभक्त पाण्डेले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्। स्वास्थ्य एकाइ व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाअध्यक्ष लामिछानेले नयाँ भवनका लागि स्वास्थ्य विभागबाट रु ३९ लाख प्राप्त भएर निर्माण शुरु गर्न लागिएको जानकारी दिएका छन्। (रासस)