काठमाडौं– फोक्सोमा रहेका हावा भरिने थैलीहरुमा संक्रमणका कारण पानी र पिप जम्मा हुन्छ। त्यसकारण निमोनिया फोक्सोमा हुने गर्दछ। निमोनियाको प्रमुख कारण संक्रमण हो।
बालबालिका र बूढाबूढीमा रोगसँग लड्न सक्ने क्षमता कमजोर हुने हुँदा बालबालिका र बूढाबूढीलाई निमोनियाको असर गम्भीर रुपमा देखिन सक्छ। संक्रमण विभिन्न जिवाणु, विषाणु र ढुसी, परजीवी र कहिलेकाँही खानेकुरा वा पानी लगायत तरल पदार्थ फोक्सोमा पुगेर पनि हुन्छ।
नेपालमा गतवर्ष जन्मेदेखि पाँचबर्ष मुनिका करिब १ हजार २ सय बालबालिकाको ज्यान गएको थियो। ज्यान गएकामध्ये श्वासप्रस्वास सम्बन्धी (एआरआई) रोगका कारण २ सय ३६ जनाको मृत्यु भएको छ। ५ बर्ष मुनिका बालबालिकाहरुमा करीब २० प्रतिशत मृत्यु निमोनिया रश्वासप्रस्वाश सम्बन्धी रोगका कारणबाट हुने तथ्यांकहरुले देखाउँछ।
सरकारले नीति र कार्यक्रममा ध्यान दिन सकेमा ५ बर्ष मुनिका बालबालिकाहरुरमा निमोनियाका कारण हुने अकाल मृत्युलाई सजिलै रोक्न सकिन्छ र हजारौ बालबालिकाको जीवन रक्षा गर्न सकिन्छ। तथ्यांकलाई हेर्दा पनि बालबालिकाहरुमा हुने निमोनिया नेपाल लगायत विकासोन्मुख देशहरुमा जनस्वास्थ्यको समस्याको रुपमा रहेको पाईन्छ।
बालबालिकाहरुको नाक घाँटी र वातावरणमा रहेका सूक्ष्म जिवाणु र विषाणुहरु सास फेर्दा वा अन्य कुनै माध्यमबाट फोक्सोमा पुग्यो भने फोक्सोको संक्रमण हुन सक्छ। खोक्दा वा हाछ्यु गर्दा पनि हावाको माध्यमबाट फोक्सोमा पुगी संक्रमण हुने सम्भावना रहन्छ।
निमोनियाको लक्षणः
– ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वास दर बढ्ने, छातीको तल्लो भागमा रहेका मांसपेशी भित्र पस्ने, श्वास फेर्न कठिन हुने, स–साना बालबालिकाहरुले आमाको दुध नचुस्ने र खानेकुरा खाने। बालबालिकाहरु निमोनियाका कारण बेहोस हुने, कम्पन आउने, शरीरको तामक्रम कम हुने समस्या पनि देखिन्छ।
निमोनियाको असरः
– फोक्सोको झिल्लीभित्र पानी वा पिप भरिन सक्छ, निमोनिया भएमा ढिलो नगरी चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा एन्टिबायोटिक औषधिद्धारा उपचार गर्नुपर्छ। आफूखुशी औषधी किनेर खानु हुँदैन।
– शरीरभर संक्रमण फैलिन सक्छ, फोक्सोमा पिप भरिन सक्छ, गम्भीर खालको निमोनिया छ भने अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्छ।
निमोनियाबाट कसरी जोगाउने बालबालिकाः
– पर्याप्त मात्राको पोषणले बालबालिकाहरुको रोगसंग लड्न सक्ने क्षमतामा बृद्धि गर्दछ। बालबालिकालाई आमाको दूध र थप आहार प्रसस्त खुवाउनुपर्छ।
– बालबालिकालाई जन्मेदेखि १५ महिनाको उमेर भित्र दिइने खोप लगाईयो भने निमोनियाबाट जोगाउन सकिन्छ।
– धुवाँ, धूलो र चिसोबाट बालबालिकालाई सधै सुरक्षित राख्नुपर्छ, बालबालिकाको सरसफाइमा ध्यान दिनुपर्छ, सुरक्षित गर्भजाँच र प्रसूति सेवामा ध्यान दिनुपर्छ।
– बालबालिकाहरुलाई एलर्जी गराउने पदार्थहरु जस्तै परागका कणहरु, शरीरमा छर्कने सुगन्धित बास्नाहरु आदिबाट जोगाउनुपर्छ।