काठमाडौं– हामीले प्रयोग गर्दै आएको ब्रोकाउली सामान्यतया तरकारीका रुपमा पाउँछौं। यसमा प्रशस्त मात्रामा भिटामिन ‘के’ र ‘सी’ पाइन्छ। यसले क्यान्सर जस्तो खतरनाक रोग नियन्त्रणमा ठूलो भूमिका निभाउने चिकित्सकहरु बताउँछन्। यसमा पाइने भिटामिन सीले शरीरमा टिस्यु तथा हाडका लागि आवश्यक तत्व उत्पादनमा सहयोग गर्छ।
ब्रोकाउलीमा फोलिक एसिड, पोटासियम तथा फाइबर पाइन्छ। यसका कारण चोटपटक निको हुन सहयोग पुग्छ। घाउ सुन्निनबाट रोक्न तथा संक्रमण हुन नदिन यसले महत्वपूर्ण भूमिका खेल्छ। साथै यसमा हुने ‘बायो एक्टिभ कम्पाउण्ड’ले संक्रमणलाई रोक्न सहयोग गर्छ।
यसमा भएको बायोएक्टिभ कम्पाउण्डले शरीरका कोषिका मर्न नदिने भएकाले केही प्रकारका क्यान्सरविरुद्ध पनि यसले प्रभावकारी काम गर्छ। ब्रोकाउलीले स्तन, आन्द्रा र मिर्गौलामा हुने क्यान्सर र प्रोस्टेट क्यान्सर रोक्न मद्दत र्पुयाउँछ। मुटुसम्बन्धी समस्या कम गर्न पनि ब्रोकाउली उपयुक्त मानिन्छ। ब्रोकाउलीमा हुने एन्टिअक्सिडेन्ट तथा फाइबरले रगतमा चिनीको मात्रा नियन्त्रण राख्न पनि सहयोग गर्छ।