काठमाडौं– हातले गरिने भोजन वा काँटा चम्चाले गरिने भोजन र चपिस्टिकले खाइने खाना। यानिकि भात मुछेर हातले खाने पुस्तामाथि नयाँ पुस्ताले खिसि गर्ने नभएका पनि होइनन्। यसबाट तपाईले लाज मान्ने गर्नु भएको छ भने पनि पिर नगर्नुहोस्। हातले मुछेर खाने खाना पूर्वीय संस्कृतिको हिस्सा मात्र नभएर वैज्ञानिक पनि रहेको छ।
नेपाल लगायत भारत वा दक्षिण एसियाली मुलुक लगायतका देशमा परापूर्व कालदेखि खाना विशेष गरि भात खाँदा पाँच औंलाको प्रयोग हुने गरेको छ। तर पछिल्लो चरणमा हातले खाना खान घिन मान्ने र चम्चा वा काटाको प्रयोग गर्ने नयाँ पुस्ताको संख्या बढ्दो छ। हात फोहर भएको अवस्थामा चम्चाको प्रयोगलाई अस्वभाविक मान्न सकिँदैन।
तर हात सफा गरेर खाना खाँदा त्यसबाट प्रत्यक्ष फाइदा पुग्छ। आयुर्वेदका अनुसार खाना पाँच औंलाको संगमबाट बन्ने मुद्राले स्वास्थ्यलाई फाइदा पुग्छ भने पाचन प्रकृयालाई पनि यसले फाइदा गर्छ। विभिन्न अध्ययन अनुसार हातले खाना खाँदा जुन तृप्ती मिल्दछ त्यो चम्चा वा काँटाले खाँदा मिल्दैन। आयुर्वेदका अनुसार सिधै हातले भोजनको स्वाद लिँदा त्यो बढि पौष्टिक तथा स्वास्थ्यबर्धक हुन्छ।
साथै पाचन प्रक्रियामा सन्तुलन आउने र पेटको गडबडी पनि कम हुन्छ। प्राकृतिक विज्ञानका अनुसार हातले खाना खाँदा हामीले थालमा रहेका खानेकुरालाई सही तरिकाबाट मिसाउन पाउँछौँ। यदि चम्चाले खाने हो भने त्यो काम पेटले गर्नुपर्छ। पेटले गर्नुपर्ने प्रारम्भिक काम हातले नै गरेपछि पाचन क्रियामा पेटमाथिको दबाब कम हुन्छ र पाचन प्रक्रिया सन्तुलित हुन्छ।
कब्जियत, अपच तथा डकार आउने जस्ता समस्या कम हुन्छन्। हातले खाना खाने क्रममा पलेटी कसेर गुन्द्रीमा बसियो भने अझै लाभदायक हुने योगविज्ञानको दाबी छ। जब चम्चाले खाइन्छ तब हामीलाई थाहा हुँदैन की तरकारी वा खाना काँचो छ वा राम्रोसँग पाकेको छ। चिसो छ वा तातो छ भन्ने थाहा हुँदैन तर हातले खाना खाँदा हामीले यो कुरा थाहा पाउन सक्छौँ।
यसले खानाको प्रकार वा अवस्था अनुसारको पाचन रस उत्सर्जन गर्नका लागि हाम्रो मस्तिष्कले सम्बन्धित ग्रन्थीहरुलाई निर्देशित गर्न पाउँछ। पाचन रस सही ढंगले उत्सर्जन भयो भने खानेकुरा राम्रोसँग पच्दछ र पोषक तत्वपनि सरीरले राम्रोसँग ग्रहण गर्दछ।
अन्य फाइदाहरुः
आयुर्वेदका अनुसार हातको प्रत्येक औंलामा पाँच तत्व रहेको हुन्छ। बुढी औला अन्तरिक्ष सम्बन्धि, चोर औंला हावा सम्बन्धी, माझी औंला आगो सम्बन्धि, साइली औंला पानी र कान्छी औंला पृथ्वीसँग समबन्धित छन्। जब तपाई हातले भोजन गर्नुहुन्छ त्यतिवेला यी सबै तत्व सक्रिय हुन्छन्। र यसले खानालाई सन्तुलित राख्न र स्वस्थ राख्न सहयोग गर्छ।
काटा र चम्चाको उपयोगले सजिलै र छिटै खान सकिन्छ होला तर शरीरमा मधुमेहको जोखिममा पुया्उन पनि सक्छ। र रक्त प्रवाह असन्तुलित बनाउन पनि सक्छ। हालते मजाले मुछेर स्वाद लिएर खानइयो भने मधुमेहको जोखिम कम हुन जान्छ।