काठमाडौँ, १३ माघ – प्रतिनिधिसभाको बैठकले पारित गरेको चिकित्सा शिक्षा विधेयकलाई नागरिक समाजका अगुवाहरुले राष्ट्रियसभामा सुधार गरेर पारित गर्न अपील गरेका छन्।
नागरिक अभियन्ता डा. गोविन्द केसी सत्याग्रहमा रहेकै समयमा सरकारले केसीसँग गरेको सम्झौता उल्लंघन गर्दै पारित गरेको उक्त विधेयकले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताउँदै नागरिक समाजका अगुवाहरुले सम्झौता उल्लंघन गरेर सरकारले आफ्नो विश्वसनीयतामाथि प्रश्न चिह्न लागेको ठहर गरेका छन्।
नेपाल सरकारले यसअघि डा. केसी गरेको सम्झौता उल्लंघन गरी संसदले विधेयक पारित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै नागरिक समाजका अगुवाहरुले उक्त विधेयकलाई राष्ट्रियसभाको बैठकबाट सुधार गरेर मात्र पारित गर्न अपील गरेका छन्।
यसरी अपील गर्ने नागरिक समाजका अभियन्ताहरुमा केदारभक्त माथेमा, सुशीला कार्की, महावीर पुन, अभि सुवेदी, भोजराज पोखरेल, स्वर्णिम वाग्ले, क्याप्टेन विजय लामा, कृष्ण धराबासी, जयराज आचार्य, दुर्गा सुवेदी, कपिल श्रेष्ठ, मनप्रसाद वाग्ले, भैरव रिसाल, डा. रामेश कोइराला, वीरेन्द्रकुमार मिश्र, रवीन्द्रसिंह वानियाँ, यादव खरेल, गोविन्दराज पोखरेल, प्रत्युष वन्त, शेखर खरेल, रामकुमार भण्डारी, फणिन्द्र लुइँटेल, दिनेश प्रसाई, सावित्री श्रेष्ठ, गीता रसाइली, देवी सुनुवार र गोपाल साह रहेका छन्।