काठमाडौं– बनेपा नगरपालिकाको साँगामा सदाज्योति बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको एकदिने निःशुल्क आखा शिविर ४०० जना लाभात्वित भएका छन्।
बनेपा नगरपालिका– १३ र सूर्य्विनायक नगरपालिका–१० को संगमस्थल रहेको सो स्थानमा आयोजित शिविरमा साँगा बजार, खाल्चोक, नेवारटोल, खड्का गाउँ, भङ्गाल, भैँसेपाटी, लापुली तथा मगर गाउँका आँखाका बिरामी सहभागी थिए।
नब्बे वर्षका वृद्धवृद्धादेखि स्थानीय विद्यालयका विद्यार्थीसमेत सहभागी सो शिविरमा बनेपास्थित रेयुकाई एशुमासुनागा आँखा अस्पतालका चिकित्सकसहितको प्राविधिक टोलीले उपचार सेवा उपलब्ध गराएको थियो।
आँखा परीक्षणमा केहीको मोतियाबिन्दुको शल्यक्रियासमेत गर्नुपर्ने भएको सम्बद्ध चिकित्सकले बताए। आर्थिकरुपले अशक्त बिरामीको आँखाको शल्यक्रियाका लागि सो संस्थाले सहयोग गर्ने जानकारी दिएको थियो। (रासस)