मुस्ताङ– मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ। शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले दुई तले १४ कोठे पक्की भवन निर्माण गरेको हो।
दुई वर्षअघि तत्कालीन शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले भवन निर्माणका लागि महादेवी–नाना जेभीसँग ठेक्का सम्झौता गरेको थियो। सङ्घीयता कार्यान्वयनसँगै डिभिजन खारेज भएपछि पोखराको कार्यालयमा यो आयोजना हस्तान्तरण भएको थियो।
रु एक करोड ४३ लाखको लागत अनुमान गरिएको भवन बनाउन रु एक करोड १० लाखमा ठेक्का सम्झौता भएको थियो। भवनको भूइँतलामा बिरामी उपचार, औषधि भण्डारण, प्रसूति, स्वास्थ्य परीक्षण, प्रशासनिक, सहायता कक्षका लागि आठ कोठा छन्।
माथिल्लो तलामा दुई परिवार स्वास्थ्यकर्मीको आवासका लागि छ वटा कोठा छन्। सुविधासम्पन्न भवन निर्माण भएपछि सेवा प्रवाह सहज भएको छ। यसअघि चौकीको भवन पुरानो र जीर्ण बनेकाले नयाँ बनाइएको हो। भवन बनाउन स्थानीयवासीले पाँच रोपनी जग्गा व्यवस्था गरेका थिए।
नवनिर्मीत भवन सोमबार स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको महादेव निर्माण सेवाका सञ्चालक कृष्णकुमार शेरचनले बताएका छन्। सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका इञ्जिनीयर सुशील आचार्यले स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडाध्यक्ष नरप्रसाद हिराचनलाई भवन हस्तान्तरण गरेको थियो।
भवन हस्तान्तरण कार्यक्रममा सांसद प्रेमप्रसाद तुलाचनले मुस्ताङको समृद्धि र विकासका लागि आफूले निरन्तर पहल गरेको बताउछन्। पछिल्लो समय मुस्ताङमा सडक सञ्जालसँगै पर्यटक आवागमन बढेको उल्लेख गर्दै सांसद तुलाचनले पर्यटन विकासका लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उल्लेख गरे। (रासस)