हुम्ला, १३ माघ –हुम्लामा माघ लागेसँगै निरन्तर परेको हिमपातले राष्ट्रिय पोलियो खोप अभियानलाई प्रभावित बनाएको छ। यही माघ ८ र ९ गते सञ्चालन हुने राष्ट्रिय पोलियो खोप कार्यक्रम भारी हिमपातका कारण अवरुद्ध भएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताइन्।
जिल्लाका अधिकांश खोप केन्द्रमा पोलियो खोप खुवाउने कार्यक्रम २ दिन सञ्चालन गर्ने भनिए पनि सोमबारदेखि लगातार परेको हिमपातले खोप सञ्चालन गर्न नसकिएको उनले बताइन्। हिउँ जमेका कारण जिल्ला अस्पताल हुम्लाले २७ खोप केन्द्रमा स्वास्थ्यकर्मी र खोप सामग्री लैजान नसकिएको अनमी बोहराले बताइन्।
हिमपातले जिल्लाका प्रत्येक वडामा थालिने खोप अभियानका क्रममा खोप केन्द्र र स्वास्थ्य संस्थामार्फत ५ हजारभन्दा बढी बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाउने काम प्रभावित भएको छ।
दादुराजस्तै लाग्ने रुबेला हुँदा हातखुट्टाका औँला, नाडी र घुँडा जोर्नी दुख्ने ज्वरो आउनुका साथै रक्तश्राव हुने, गर्भवती महिलामा पनि यो रोग देखिने गरेको अनमी बोहराको भनाइ छ। दादुरा र रुबेलाको उपचार खोप भएकाले मौसममा सुधार आएमा खोप सञ्चालन गरिने उनी बताउँछिन्।
५ वर्षमुनिका बालबालिकालाई खोपका सबै सूचक खोप पोलियो थोपा, बीसीजी, डीपीटी, दादुरा रुवेला, जापानी इन्सेफ्लाइटिस आइपीभी लगायतका खोप पूरा गर्नुपर्ने उनले बताइन्। (रासस)