काठमाडौं– अण्डामा मानव शरीरका लागि चाहिने अधिकांश तत्व पाइने भएकाले यसलाई प्रोटिनको पूर्ण स्रोत मानिन्छ।
अण्डामा क्याल्सियम, आइरन, प्रोटिन, भिटामिन ए, फस्फोरस, भिटामिन डी, ई तथा जिङ्क लगायतका तत्वहरु हुने गर्दछ। यसले बालबालिका तथा गर्भवती महिलालाई निकै लाभ पुर्याउने गर्दछ। चिकित्सकका अनुसार अण्डामा दुर्लभ पौष्टिक तत्व समेत पाइन्छ। अण्डालाई पोषणविज्ञहरुले सुपर फुडको उपमा दिएका छन्।
अण्डा खानुका फाइदाः
मुटुरोगमा उत्तम– अण्डाको सेवन उक्त रक्तचाप भएका ब्यक्तिलाई समेत लाभदायी हुन्छ। अण्डामा हुने तत्वले हाइपरटेन्सन घटाउनुका साथै मुटुरोग, हृदयाघात लगायतका रोगको जोखिम समेत कम गर्छ।
वजन घटाउन सहयोगी– कतिपय मानिसमा अण्डा खाए मोटाइन्छ भन्ने गलत मान्यता छ। तर अण्डाले मोटोपनाबाट पीडित मानिसहरुलाई वजन घटाउन सहयोगी भूमिका निभाउने गर्दछ।
चेतना बढाउन– अण्डामा हुने टाइरोसिन नामक एमिनो एसिडले मस्तिष्क तथा स्नायुको चेतनामा वृद्धि गर्ने गर्दछ। यि तत्वले मस्तिष्कसम्म सूचना प्रवाह गर्ने अणुको निर्माणमा समेत भूमिका खेल्दछ।
रतन्धोबाट रोक्न– अण्डामा हुने ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्टले रतन्धो तथा छिटै दृष्टि कमजोर भएर दृष्टिवीहिन हुने जोखिमलाई न्यून पार्दछ।
प्रोटिनको श्रोत– अण्डामा उच्च गुणस्तरीय प्रोटिन पाइन्छ। यसले मानव शरीरको मुख्य संरचना, तन्तु तथा अणु बनाउन मद्दत गर्छ।