काठमाडौं– समय नपुगी जन्मिएका बच्चाहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु धेरै देखिने गर्दछ। समय नपुगी जन्मिएका र कम तौल भएका बिरामीहरुमा आँखाको समस्या पनि धेरै हुने गरेको भेटिएको छ। चिकित्सकहरुले यस्ता बच्चाहरुमध्ये धेरैमा यस्तो समस्या देखिएको भन्दै सम्भावित बच्चाहरुलाई अनिवार्य आँखा जाँच गराउन सुझाव दिएका छन्।
तिलगंगा आँखा प्रतिष्ठानका भेट्रो रेटिना विशेषज्ञ डा. सन्यम बजिमायाले नवजात शिशुहरुमा पछिल्लो समय आँखामा देखिने रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी (आरओपी)को समस्या बढेको भन्दै सम्भावित सबै अभिभावकहरुलाई समयमा नै उपचार गराउन सुझाव दिएका छन्। यो रोग लाग्न सक्ने केही कारणहरु पनि रहेका छन्। समय नपुगी जन्मिएका बच्चाको आँखामा आरओपीको उच्च जोखिम देखिएको छ।
आरओपीको समस्या उमेर नपुगी जन्मिएका, कम तौल भएका र सुत्केरी हुने समयमा राम्रो ख्याल नपाएका बच्चाहरुमा आउने गर्दछ। आरओपी रोग विश्वभरका बच्चाहरुमा हुने अन्धोपनको मुख्य कारण हो। यो रोगमा आँखाको पछिल्लो भागमा हुने पर्दामा असर पर्दछ। जसले गर्दा त्यसले आँखामा अन्धोपन निम्त्याउने चिकित्सकहरु बताउँछन।
कसरी हुन्छ आरओपीः कुनैपनि बच्चाको जन्म सामान्यतया गर्भ बसेको ९ महिनामा हुने गर्दछ। नौं महिनामा आमाको पेट भित्र नै बच्चाको शरीरका सबै मांसपेशीहरु पूर्ण रुपमा विकास भएको हुन्छ। यदि कुनैपनि बच्चा समय नपुगी जन्मिएको छ भने उसको आँखाको पर्दा (रेटिना)को विकास पूर्ण रुपमा भईसकेको हुँदैन। यसरी बच्चा उमेर नपुगी जन्मिँदा रक्तनलीहरु असामान्य रुपमा बढ्न जान्छ र आँखामा घाउ हुने सम्भावना हुन्छ। यसरी रेटिनामा भएको घाउ समयमा नै उपचार गरेको खण्डमा निको हुने गर्दछ। यस बाहेक निम्न कारणले आँखामा त्यो समस्या हुने गर्दछ।
– आरओपीको मुख्य कारण भनेको नै समय नपुगी बच्चा जन्मिनु हो। ३६ हप्ताभन्दा अघि जन्मिएका बच्चाहरुलाई समय अगावै जन्मिएकाहरुको सूचीमा राख्ने गरिएको छ। उनीमा धेरै आरओपीको समस्या देखिन्छ।
– आरओपीको अर्काे कारण भनेको जन्मिने बेलामा सामान्यभन्दा निकै कम तौल हुनु हो। सामान्यतया बच्चा जन्मिँदा २ केजीको तौल हुने गर्दछ। तर, १७०० ग्रामभन्दा कम तौलको बच्चा जन्मियो भने पनि उनीहरुमा यस्तो समस्या हुनसक्ने चिकित्सकहरुको भनाई छ।
– यो बाहेक जन्मिने बित्तिकै धेरै सिकिस्त भएर लामो समय आईसियुमा राखेका र धेरै समय अक्सिजन दिएका नवजात शिशुहरुमा पनि यसको जोखिम हुने गर्दछ।
आरओपीको जाँच गर्नुपर्ने समयः उनका अनुसार समयमा नै जाँच गर्ने हो भने आँखालाई पहिलेको नै अवस्थामा ल्याउन सकिन्छ। त्यसको लागि ढिलामा तीनहप्ता पछि पहिलो पटक चिकित्सकलाई जचाउन जानु पर्छ। त्यो बिरामीको अवस्था हेरेर हुन्छ। सम्भव भएसम्म दोस्रो हप्तामा नै उपचारको लागि जाँदा राम्रो मानिन्छ।
पहिलो जाँचको अतिरिक्त कम्तिमा ५ पटकसम्म यसको नियमित जाँच गराउनुपर्ने हुन्छ। यसरी समयमा यसको जाँच नगराउने हो भने यसबाट पूर्ण रुपमा क्षति पुग्ने चिकित्सकहरुको भनाई छ। चिकित्सकहरुका अनुसार आरओपीको जाँच विशेष किसिमको लेन्सले हेरेर वा विशेष किसिमको क्यामेराको प्रयोग गरी आँखाको पर्दाको फोटो खिचेर गर्ने गरिन्छ।
रेटिनाको जाँचको निम्ति आँखाको नलीलाई फुलाउनु पर्ने हुन्छ। यो फोटोलाई आँखा चिकित्सकले हेरी आरओपी भए नभएको पत्ता लगाउँछन्। यो जाँच गर्न बढीमा १० मिनेट लाग्छ र टिकटको एक सय रुपैयाँ बाहेक अरु शुल्क लाग्दैन। यो पनि प्रसुती गृह, पाटन अस्पताल जस्ता सरकारी अस्पतालमा जन्मिएका बच्चाहरुलाई भने त्यो शुल्क पनि लाग्दैन।
यो तिलगंगा आखा प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल र उपत्यका बाहिर विराटनगरमा यसको उपचार हुने गर्दछ। जाँचको क्रममा केही असहज नहोस् भन्नको लागि आँखामा औषधि लगाउने गरिन्छ। जसले गर्दा बच्चाहरुमा दुखाई पनि कम हुने गर्दछ।
उमेर नपुगी जन्मिने बच्चाहरुमा आरओपी बाहेक अरु पनि आँखा सम्बन्धी समस्याहरु हुनसक्छ। नजिक या टाढाको देख्न गाह्रो हुनु, आँखा डेडो हुनु, जलविन्दू जस्ता रोग लाग्ने भएकोले समय नपुगी जन्मिएका र कम तौल भएका बच्चाहरुको विशेष किसिमले आँखाको ख्याल राख्नुपर्ने हुन्छ।