काठमाडौं– मुसा भनेको ह्युमन पापिलोमा भाइरस एचपीभी नामक भाइरसको संक्रमणबाट छालामा आउने रोग हो। यसलाई अंग्रेजीमा वाट्स अथवा भेरुका भल्गारिस भनिन्छ।
एचपीभीको सयौं प्रजातीहरुले विभिन्न प्रकारका मुसाहरु शरीरको विभिन्न ठाउँमा निकाल्छन्। सामान्यतयाः यो हात र खुट्टामा आउने भएपनि कहिलेकाहीँ मुखको भित्री भाग, आवाज नली र यौनांगमा आउँछ।
यसका प्रकारः एचपीभीका विभिन्न प्रकारहरु हुन्छन्। सर्ने विधि र विभिन्न ठाउँमा देखिने मुसाको प्रकृति अनुसार यसको वर्गीकरण गरिएको छ।
जस्तैः –सामान्य प्रकारका मुसा हात तथा खुट्टाको माथिल्लो भाग तथा औलाहरुमा आउने मुसा। यो हेर्दा नराम्रो देखिन्छ तर सामान्यतया अरु समस्या दिँदैन।
–पैतालामा र हत्केलामा आउने मुसा यसको मुख्य लक्षण अत्याधिक दुखाइ हो। दुखाइ विशेषः गरी हिँड्ने बेलामा हुन्छ यदी खुट्टामा छ भने हत्केलामा पनि दुखाइ हुन सक्छ।
–भेरुका प्लाना ससाना खैरो रंगको मुसाहरू जो अनुहारमा ज्यादा आउँछन्।
–यौनांगमा आउने मुसाहरु यो चाहि यौनांगमा घाउ हुनेहरुसँग असुरक्षित सम्पर्क भएमा हुन्छ। सामान्यतया असुरक्षित सम्पर्क भएको १२ देखि १५ महिनामा यस्ता मुसाहरु आउँछन्। यो मुसा गराउने एचपीभीको प्रजातिले कहिले काँही गुदद्वारको क्यान्सर पनि गराउन सक्छ।
मुसाहरु आफैं निको हुन्छनः
स–साना हात र खुट्टामा आएको मुसा आफैँ निको हुन सक्छ तर, पैतालामा वा हत्केलामा आएको वा यौनांगमा आउने र अनुहारमा आउने मुसाहरु आफैं निको हुँदैन।
के यो सरुवा रोग होः
यो सरुवा रोग हो। मुसा कोट्यै रहने वा मुसा चलाएपछि राम्रोसँग हात नधोई अन्य ठाउँमा छोएमा यो रोग सर्छ। यस्तै असुरक्षित यौन सम्पर्कको कारणले पनि यो रोग सर्दछ। यदी पुरुषको अनुहारमा यो रोग छ भने दाह्री काट्दा पनि यो रोग अर्को ठाउँमा सर्न सक्छ।
रोकथामः
यसको रोकथाम गर्न नसकिए पनि बच्नको लागि केही सावधानी अपनाउन सकिन्छ। जस्तैः हात राम्रोसँग धुने, हात चुसिरहने वा नंग टोक्ने बानी नगर्ने, जिमखाना, स्विमिङ्ग पुलमा आफ्नै तौलिया प्रयोग गर्ने, सधै जुत्ता लगाउने, अरु कसैलाई मुसा आएमा नकोट्यौने।
उपचारः
–पहिलो कुरा मुसाको उपचार विशेषज्ञको निगरानीमा मात्र गर्नुहोला,
–छाला रोग विशेषज्ञको सल्लाहमा शरीरमा मुसा देखिने बित्तिकै उपचार गराउनु पर्दछ।
–रोगको अवस्था ठाउँ र संख्या अनुसार बिजुलीले डडाएर फाल्ने वा सालिसाइलिक एसिड नामक औषधिको प्रयोग वा लेजर प्रबिधिबाट मुसाको उपचार गरिन्छ।
–चिकित्सकको प्रत्यक्ष निगरानीमा गरिने उपचार बिधिमा एमएमआरको भ्याक्सिन लगाउने तथा भिटामिन डीको इन्जेक्शन लगाउने गरिन्छ।