विराटनगर– कोशी अस्पतालमा रेबिजविरुद्धको सुई निःशुल्क गरिएको छ। अस्पतालमा दैनिक १५ देखि २० जनाको सङ्ख्यामा रेबिजविरुद्धको सुई लगाउन बिरामी आउने गरेका छन्। कुकुर, बिरालो र बाँदरले टोकेपछि उनीहरु रेबिजविरुद्धको सुई लगाउन आउने गरेका हुन्।
अस्पतालका चिकित्सक डा सरवेशकुमार झा रेबिजविरुद्धको सुई नलगाउँदा ज्यान गुमाउनुपर्ने अवस्था आउने बताउँछन्। उनले सुई लगाएर सुरक्षित रहन आग्रह गरे। ‘मानिसमा रेबिजको बारेमा ज्ञानको कमी छ’, डा झाले भने, ‘समयमै उपचार गराउन नआउँदा ज्यान जोखिममा पर्ने गरेको छ।’
‘अस्पतालले रेबिजविरुद्धको सुई निःशुल्क लगाउने गरेको छ’, उनले भने। रेबिजविरुद्ध चारवटा सुई लगाउनुपर्ने हुन्छ। अस्पतालले निःशुल्क लगाउँदै आएको रेबिजविरुद्धको सुई कतिपयले प्रतिसुई रु पाँच सयमा लगाउने गरेको पाइएको छ। रेबिजविरुद्धको सुई लगाउन कसैले लापरवाही गर्न नहुने डा झा बताउँछन्।