काठमाडौं– हेपाटाइटिस बी रोगका बारेमा सबैलाई जनचेतनाको आवश्यकता अनिवार्य छ। हेपाटाइटिस बी लागेपछि त्यसलाई निमुर्ल पार्न सकिँदैन। यो रोग बाट बच्न समय समयमा रगत परीक्षण गर्ने र सुई लगाउन आवश्यक छ। केही रगत परीक्षण र कलेजोको कडापन नाप्ने प्रविधिबाट संक्रमित व्यक्तिमा हेपाटाइटिस बी सक्रिय छ वा निष्क्रिय, सजिलै पत्ता लगाउन सकिन्छ।
सक्रिय रहेको खण्डमा हेपाटाइटिस बी विरुद्ध एन्टिभाइरल औषधिको प्रयोगबाट यस जीवाणुलाई पुनस् निष्क्रिय बनाउन र कलेजोको सिरोसिस वा क्यान्सर हुनबाट जोगाउन सकिन्छ। अल्का अस्पतालले अन्तर्राष्ट्रिय हेपाटाइटिस दिवसको अवसरमा निशुल्क हेपाटाइटिस बी जाँच गरेको छ।
लाइन्स क्लव अफ काठमाडौं अल्का डिस्टिक ए टु को सहकार्यमा अल्का अस्पतालले निशुल्क हेपाटाइटिस बी जाँच गरेको हो। आइतबार विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म निशुल्क हेपाटाइटिस बी जाँच गरिने अस्पतालले जनाएको छ। निशुल्क हेपाटाइटिस बी जाँचका साथै फ्रि स्क्रिनिङ टेष्ट समेत गरिएको प्रधानले जानकारी दिइन्।
अल्का अस्पतालका कलेजो रोग विशेषज्ञ डाक्टर अनन्त श्रेष्ठका अनुसार यो रोग विशेष गरी ६ वर्षदेखि १५ वर्षसम्मका बालबालिकामा देखिने गरेको छ। बालबालिका खेल्दा हेपाटाइटिस संक्रमित भएको बालकहरुको घाउचोटबाट रगत निस्कँदा त्यसबाट पनि अन्यमा रोग–रोग सर्ने उनले बताए।
हेपाटाइटिस संक्रमित भएको मानिसबाट अरुलाई रगत दिदाँ र यौनसम्पर्क गर्दा हेपाटाइटिस बी लाग्ने श्रेष्ठले बताए। अहिले बालबालिकाहरुलाई खोप तालिकामा नै सरकारले हेपाटाइटिस बीको सुइ लगाउनुपर्ने व्यवस्था गरेको छ। पछिल्लो समय हेपाटाइटिस बी रोकथामका लागि कोरियन र आयुर्बे्दिक औषधीहरु बजारमा पाइएता पनि त्यसको प्रयोग नगर्न डाक्टर श्रेष्ठले सुझाव दिएका छन्।
त्यस्ता औषधिहरुले रोग निको नहुने भन्दै डाक्टर श्रेष्ठले भ्रममा नपर्न सबैसँग आग्रह गरे। समयमा उपचार नपाए दीर्घकालीन हेपाटाइटिस बी र सी संक्रमित व्यक्तिमा कलेजोको सिरोसिस भई उक्त अंगले काम नगर्ने अवस्था लिभर फेलियर आउने उनले बताए।
कलेजोको क्यान्सरको पनि उच्च जोखिम रहन्छ। कलेजो धेरै नबिग्रिएसम्म खासै केही लक्षण नदेखिनाले संसारभर नै दीर्घकालीन हेपाटाइटिस बी र सी संक्रमित १० मध्ये ९ जना आफू संक्रमित भएकोबारे अवगत नभएको श्रेष्ठले बताए।