काठमाडौं – हामी नेपालीहरु दैनिक साँझ र बिहान खानामा दाल, भात र तरकारीको प्रयोग गर्ने गरेका हुन्छौ, हामी नेपालीको बानी नै छ कि बिहान् होस् या त साँझ, दैनिक एकै किसिमको खाना खाने,तर विभिन्न अध्ययनहरुले यसरी दैनिक एकै प्रकारको खाना नियमित खानु स्वास्थ्यको लागि राम्रो नभएको बताएका छन्।
चिकित्सकहरुले यसरी दैनिक एउटै खानेकुरा खाँदा त्यो खाना अस्वस्थकर हुने ५ कारण बताएका छन्। हाम्रो शरीरले जहिले पनि नयाँ स्वाद, आकार र बनावट खोजिरहेको हुन्छ।
त्यस्तो अवस्थामा सकेसम्म दैनिक फरक खानेकुरा खानु स्वास्थ्यको लागि अति आवश्यक हुन्छ ।चिकित्सकहरुले खाना र खाजामा समेत एकै किसिको पौष्टिक आहार हुन नहुने बताएका छन्।
समय अभावका कारण होस् या त अरु विविध कारणले हामीहरु घर बाहिर खाना खान जाँदा पनि घरमा खाने खानालाई नै प्राथमिकतामा राख्ने गरेका छौं।
तर, चिकित्सकहरुको खोजलाई आधार मान्ने हो भने त्यस्तो बानीले हामीलाई समस्यामा पारिरहेको हुनसक्छ।यसरी एकै प्रकारको खाना खाँदा हुने समस्यालाई उनीहरुले बुँदागत रुपमा यसरी व्याख्या गरेका छन्।
वजन घटाउन समस्याः
हामीले दैनिक खाने खानामा भिन्नभिन्न पौष्टिक तत्वको प्रयोग गरेनौं भने हाम्रो तौल घटाउने प्रयासमा समस्या सिर्जना हुनसक्छ ।
तौल धेरै भएर समस्या भएकाहरुले जतिसुकै प्रयास गरेपनि खानामा ध्यान दिने र दैनिक फरकफरक पौष्टिक आहार नखाने हो भने यसले कम गतिमा वजन घटाउने काम गर्दछ।
जस्तोसुकै पौष्टिक आहार खाएपनि दैनिक रुपमा फरक खानेकुरा खानु पर्दछ। पीएलओएस वनमा प्रकाशित एक अध्ययनका अनुसार जो मानिस अधिक मात्रामा अलग अलग खानेकुरा खाने गर्दछ, त्यस्तो मानिसहरु अरुको तुलनामा छिटो आफ्नो तौल कम गर्नमा सक्षम रहन्छ।
दुब्लोपन र कुपोषणको शिकारः
कुनैपनि व्यक्ति दैनिक एकै किसिमको खानेकुरा मात्रै खान्छ भने उसमा कुपोषण र दुब्लोपनको समस्या देखिने गर्दछ। यस्तो अवस्थामा नियमित एकै किसिमको खाद्यपदार्थहरु खाँदा सोही खानाको रंग, स्वाद र बनावटका कारण उसले खाना खान नै इन्कार गर्ने गर्दछ।
खाएको खण्डमा पनि उसले त्यसमा स्वाद र मन लगाएर खाईरहेको हुँदैन। जसका कारण उनीहरुमा दुब्लोपनको समस्या हुने देखिएको छ।
पोषण (न्युट्रेशन )को कमीः
हाम्रो शरीरलाई स्वच्छ राख्नको लागि शरीरमा सबै किसिमका पोषक तत्वहरुको जरुरत पर्दछ। त्यसमा पनि सही तरिकासँग शरीरको सञ्चालनको लागि कस्तो किसिमको पोषक तत्वलाई बढी महत्व दिने भन्ने कुरा चिकित्सकहरुको सल्लाह अनुसार गर्नुपर्ने हुन्छ।
तर, दैनिक सन्तुलित आहारको लागि फरक किसिमको स्वाद र परिकार भने आवश्यक हुन्छ। हामीलाई चाहिने सबै किसिमका पौष्टिकहरु हाम्रो खाना र फलफूलबाट नै पाउने गरिन्छ।
त्यसको लागि सबैभन्दा आवश्यक कुरा हो फलफूलहरुको नियमित सेवन। त्यसैले न्युट्रेशनको कमी पूरा गर्न मद्दत गरेको हुन्छ। तर, एकै किसिमको फलफूलपनि नियमित खानु हुँदैन। यसमा समेत विविधता ल्याउनु पर्दछ।
बढी पौष्टिकको समस्या वा कलेजोको समस्याः
दैनिक एकै किसिमको खाना खाने मानिसहरुमा कलेजो सम्बन्धी समस्या पनि हुने बताईन्छ। कुनैपनि खाद्यपदार्थको दैनिक अधिक सेवन हुँदा एकातर्फ धेरै पौष्टिकका कारण पनि स्वास्थ्यमा समस्या आउने र त्यसले शरीरका अरु अंगहरुमा समेत समस्या सिर्जना गर्ने चिकित्सकहरु बताउँछन्।
पेटको स्वास्थ्यलाई नोक्सान पुर्याउँछः
यदि हामी दैनिक एकै प्रकारको खाना खान्छौं भने यसले हाम्रो पेटमा समस्या सिर्जना गर्नसक्छ। जसका कारण पेटमा रोगविरुद्ध लड्ने क्षमताको विस्तारै कमी हुँदै जान्छ ।
अर्थात् अलग प्रकारको पौष्टिक तत्वको प्रयोगले हाम्रो रोग प्रतिरक्षा प्रणालीमा बढावा दिनुका साथैं पाचन प्रणालीलाई समेत राम्रो गर्नेगर्दछ। यसको लागि आफ्नो पौष्टिक आहारमा फलफूलहरु, सागपात आदिको सहि प्रयोग गर्नुपर्दछ।