विदुर - नुवाकोटमा केही सातायता भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन्। मौसम परिवर्तनसँगै संक्रमण बढेको हो।नुवाकोटको त्रिशूली अस्पताललगायत अन्य स्वास्थ्य संस्थामा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढ्दै गएको स्वास्थ्यकर्मीले जनाएको छ।
केही सातायता पहिलेको तुलनामा अहिले बिरामी संख्यामा वृद्धि भएको त्रिशूली अस्पतालले जनाएको छ। अस्पतालको बहिरङ सेवामा दैनिक आउने दुई सयभन्दा बढी बिरामीमध्ये ६० प्रतिशत बढी भाइरल ज्वरोका भएको चिकित्सकहरुले बताएका छन्। भाइरलबाट सबैभन्दा बढी बालबालिका र वृद्ध प्रभावित छन्।
अस्पतालमा बिरामी ५० जनासम्म दैनिकरुपमा आउने गरे पनि अहिले दुई सयसम्म पुग्न थालेको जिल्ला अस्पतालका त्रिशूलीका डा. जयराम पाण्डेले बताएका छन्। त्रिशूली अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरो र टाइफाइडको सङ्क्रमण देखापरेको डा. पाण्डेले बताउछन्।
“अस्पतालमा भाइरल ज्वरोका बिरामी थपिँदै जान थालेका छन्, उपचार गर्नमा हामीलाई पनि समस्या हुन थालेको छ”, उनले भनेका छन्, “हल्का ज्वरो आउने, टाउको, घाँटी, हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने, जीउ दुख्नेलगायत लक्षण भएका बिरामीको संख्या प्रतिदिन बढ्दै गएको छ।” घर वरिपरी सफा राख्ने, पानी जम्ने खाल्टा पुर्ने र सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ। –रासस