काठमाडौँ, ८ माघ – बदलिँदो जीवनशैली र गलत खानपानका कारण पनि ससाना बालबालिकामा कोलेस्ट्रोलको समस्या धेरै देखिन थालेको छ। सानैदेखि बालबालिकाको शरीरमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा कम उमेरमै उनीहरूमा उच्च रक्तचाप, मुटुसम्बन्धी रोग तथा हृदयाघात हुने सम्भावना बढी हुन्छ। बालबालिकामा कलिलै उमेरदेखि किन देखिन्छ उच्च कोलेस्ट्रोलको समस्या? र, कसरी यसको समाधान गर्न सकिन्छ? यसबारेमा सबैले बुझ्न जरुरी छ।
बालबालिकामा कोलेस्ट्रोल बढ्नुका कारण
कोलेस्ट्रोल आफैँमा अणुवंशिक समस्या हो। त्यसैले परिवारमा कसैलाई उच्च कोलेस्ट्रोल तथा मुटुसम्बन्धी रोग छ भने त्यस परिवारका बालबालिकालाई पनि यो रोग देखिने सम्भावना उच्च हुन्छ।
कोलेस्ट्रोलको समस्या विशेषगरी आमाबाबुबाट बालबालिकामा देखिने गर्छ। यसका कारण बालबालिकाले सानै उमेरदेखि यो खतरनाक रोगको सामना गर्नुपर्छ।
गलत खानपान र खराब जीवनशैलीका कारण पनि धेरैलाई कोलेस्ट्रोलको समस्या हुने गर्छ। विशेषगरी बाल्यावस्थादेखि नै अत्यधिक मात्रामा बोसोयुक्त खानेकुराको सेवनले पनि यो समस्या सानै उमेरबाट देखिने गर्छ। त्यस्तै मोटोपनाले पनि धमनीमा रक्तप्रभावमा समस्या भएर उच्च कोलेस्ट्रोलको समस्या निम्तिने गर्छ।
खानपानसम्बन्धी अनियमितता, जङ्कफूड र फास्टफूडका कारण पनि बच्चाहरूमा मोटोपनाको समस्या तीब्र रूपमा बढ्ने गरेको छ। मोटोपना भएका बालबालिकामा कोलेस्ट्रोलको समस्या बढ्ने गर्छ। त्यसैले बच्चाहरूलाई सकेसम्म फास्टफूडबाट टाढै राख्नुपर्छ।
सानै उमेरदेखि गराउनु पर्छ जाँच
शरीरमा कोलेस्ट्रोल कम छ वा धेरै भन्ने कुरा रक्त परीक्षणबाट पत्ता लगाउन सकिन्छ। यसबाहेक परिवारमा कसैलाई कोलेस्ट्रोलको समस्या छ भने वा परिवारमा कसैको हृदय रोगका कारण मृत्यु भएकोे छ भने पनि त्यस्ता परिवारमा रहेका बच्चाहरूलाई शुरुबाटै स्क्रिनिङ्ग गर्न जरुरी छ।
त्यस्तै सामान्यभन्दा धेरै तौल हुने तथा शरीरअनुसारको तौल र उचाइ २५ प्रतिशत धेरै हुने २ देखि ८ वर्षका बच्चाहरूको स्क्रिनिङ गर्नु जरुरी छ। बच्चाहरूको पहिलो स्क्रिनिङ २ देखि ८ वर्षको बीचमा गराउनु पर्छ।
स्क्रिनिङका क्रममा फास्टिङ लिपिड प्रोफाइल सामान्य छ भने पनि ३ देखि ५ वर्षपश्चात् फेरि स्क्रिनिङ गराउनु पर्छ ।
कोलेस्ट्रोल घटाउन बदाम खाने
बदाममा पाइने फाइबर, ओमगा (३ फ्याटी एसिड र भिटामिन)ले खराब कोलेस्ट्रोललाई घटाउन तथा राम्रो कोलेस्ट्रोललाई बढाउन मद्दत गर्छ। यसमा रहेको फाइबरले लामो समयसम्म पेट भरिएको महसूस हुने गर्छ।
प्रतिदिन पाँचदेखि दश दाना बदाम खानाले यसले शरीरमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलित राख्न मद्दत गर्छ।
जब कि घ्यू, तेल, भुटेका तथा नुनिलो बदामले भने उच्च रक्तचापको समस्या निम्त्याउन सक्छ। त्यसैले बदाम खानुअघि यस्ता कुरामा ध्यान दिन जरुरी छ।बदामलाई पानीमा भिजाएर खानु फाइदाजनक मानिन्छ। पानीमा भिजाउनाले बदाममा रहेको फ्याटको मात्रा कम हुने गर्छ र भिटामिन ‘ई’को मात्रा बढ्न थाल्छ।
कोलेस्ट्रोलको समस्याबाट बालबालिकालाई कसरी बचाउने?
बच्चाहरूलाई जङ्कफूड तथा फास्टफूड खानाबाट टाढा राख्नुपर्छ। बोसोयुक्त आहारको सेवन कम गराएर पनि उनीहरूलाई कोलेस्ट्रोलको समस्याबाट टाढा राख्न सकिन्छ। त्यस्तै बच्चाको आहारमा फलफूल, हरियो सागसब्जी, नट्स र दूधदही समावेश गरेर, ट्रान्सफ्याट तथा स्याचुरेटेड फ्याट भएको खानेकुरा नियन्त्रित रूपमा खान दिएर पनि यो समस्याबाट टाढा राख्न सकिन्छ।
विशेषगरी बच्चाहरूमा ३० प्रतिशतभन्दा बढी ट्रान्स फ्याट तथा १० प्रतिशतभन्दा बढी स्याचुरेटेड फ्याट दिएमा उनीहरूलाई उच्च कोलेस्ट्रोल हुने सम्भावना उच्च हुन्छ। यसबाहेक बच्चाहरूमा कोलेस्ट्रोलको समस्या कम गर्न पनि उनीहरूलाई नियमित व्यायामका लागि उत्प्रेरित गर्न जरुरी छ।